भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
सुन्दरहरैंचा (मोरङ) – सुन्दरहरैंचा नगरपालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारहरूले आफ्नो बसोबास गरिएको जग्गामा कानुनी स्वामित्व प्राप्त गरेका छन्। बुधबार नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहमार्फत वडा नं. ८ र १० का ७८ घरपरिवारलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको हो।
समारोहका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले भूमिहीन नागरिकलाई जग्गाको हक प्रदान गर्नु राज्यको सामाजिक न्याय अवधारणासँग जोडिएको बताउँदै यस्ता कार्यक्रमले नागरिकमा राज्यप्रति विश्वास थपिने उल्लेख गरे।
सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, भूमि समस्या समाधान आयोग जिल्ला समिति मोरङका अध्यक्ष नवीन पौडेल, कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, पूर्व संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङ लगायतका वक्ताहरूले भूमिहीन परिवारको जीवनस्तर uplift गर्न जग्गा अधिकार महत्वपूर्ण भएको धारणा राखे।
नगर प्रमुख गुरागाईले नगरपालिका विकास, योजना तथा समावेशीकरणमा नगर सरकार प्रतिबद्ध रहेको बताउँदै बाँकी वडा तथा पात्र परिवारलाई पनि चरणबद्ध रूपमा जग्गा स्वामित्व उपलब्ध गराइने जानकारी दिए।




