युवाको एकता र खेलकुदको उत्साह: गछिया गोल्डकप २०८२ मंसिर १५ देखि

एलएन गच्छदार  / सुन्दरहरैंचा

गछिया युवा समाजद्वारा आयोजित प्रथम गछिया गोल्डकप २०८२ फुटबल प्रतियोगिता आगामी २०८२ मंसिर १५ गते सोमबारदेखि सुरु हुने भएको छ। प्रतियोगिताको उद्घाटन मिति उच्च धार्मिक आस्था केन्द्र ताप्लेजुङस्थित पाथीभरा देवी मन्दिरमा गछिया गोल्ड कपको लोगो सहित  सार्वजनिक गरिएको हो। सो अवसरमा आयोजक समितिका सदस्य राजकुमार बयलकोटीले खेलकुदले युवामा आपसी एकता, आत्मअनुशासन र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रतियोगिता सुन्दरहरैंचा नगरपालिका–७, गछिया खेल मैदानमा आयोजना हुने छ। गछिया युवा समाजले स्थानीयस्तरमा खेलकुदको पहुँच विस्तार गर्दै खेल प्रतिभा पहिचान र विकासमा योगदान पुर्‍याउने उद्देश्य राखेको जनाएको छ। आयोजक समितिका अनुसार यस गोल्डकपमा स्थानीय क्लबहरूदेखि राष्ट्रिय स्तरमा परिचित फुटबल टिमहरूको समेत सहभागिता हुने अपेक्षा गरिएको छ, जसले प्रतियोगितालाई प्रदेशस्तरीय आकर्षक खेल महोत्सवको रूप दिने विश्वास लिइएको छ।

यससँगै प्रतियोगिताले समुदायमा खेलमैत्री वातावरण निर्माण, युवा पुस्तालाई नसाद्रव्य र सामाजिक विकृति–विसंगतिबाट टाढा राख्दै सकारात्मक दिगो उर्जा प्रदान गर्ने आयोजकको धारणा छ। प्रतियोगितालाई सफल बनाउन स्थानीय बासिन्दा, व्यापारी, क्लबहरू, समाजसेवी तथा स्थानीय तहबीच समन्वय र सहयोग जुटाउने तयारी भइरहेको समाजका प्रतिनिधि  निश्चल घिमिरेले  बताएका छन्।

उद्घाटन समारोह धार्मिक अनुष्ठान, सांस्कृतिक प्रस्तुति, स्वागत र खेल प्रतीकात्मक सुरुवात कार्यक्रमसहित धुमधामपूर्ण वातावरणमा सम्पन्न गरिने तयारी गरिएको छ। यहाँको खेल मैदान, दर्शक बास, सुरक्षा व्यवस्था तथा आयोजना संरचना सुधार गर्न स्वयंसेवक, स्थानीय युवा र समुदाय सक्रिय हुँदै आएका छन्।

गछिया युवा समाजले सबै खेलप्रेमी, स्थानीयवासी, दर्शक तथा खेलाडीहरूलाई शान्ति, खेल भावना र सहकार्यको भावनासहित प्रतियोगितामा सहभागी भइ समर्थन र उत्साह प्रदान गर्न आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *