प्रदेशस्तरीय अन्डर–१६ भलिबलको फाइनलमा सुन्दरहरैंचाको बाइट फ्युचर सेकेण्डरी स्कुल
एलएन गच्छदार, सुन्दरहरैंचा।
दमक भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा जारी कोशी प्रदेशस्तरीय अन्डर–१६ छात्रा भलिबल प्रतियोगितामा सुन्दरहरैंचा–८, सलकपुरस्थित बाइट फ्युचर सेकेण्डरी स्कुल फाइनलमा प्रवेश गर्न सफल भएको छ। सेमिफाइनल चरणमा विद्यालयले आकर्षक खेलकौशल प्रस्तुत गर्दै झापाको फोनिक्स माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि प्रतिस्पर्धामा स्थान बनाएर चर्चामा आएको हो।
फाइनल प्रवेशको खुशी साँझमा साझा गर्दै विद्यालयका संस्थापक तथा प्रिन्सिपल टिकराम ढकालले खेलाडीहरूको प्रतिबद्धता, अनुशासन र नियमित अभ्यास नै सफलताको आधार रहेको बताए।
“हाम्रो विद्यार्थीले केवल खेल मात्र खेलेनन्, आत्मविश्वास, समर्पण र उत्कृष्ट टोलीभावना पनि देखाए। यो सुन्दरहरैंचाका लागि गर्वको विषय बनेको छ। अब उपाधि जित्ने लक्ष्यसहित फाइनलमा उत्रिन्छौँ,” प्रिन्सिपल ढकालले भने।
यसअघि पनि बाइट फ्युचर सेकेण्डरी स्कुले अन्तर–विद्यालय तथा प्रदेशस्तरीय विभिन्न खेल प्रतियोगितामा सशक्त उपस्थिति जनाउँदै आएको इतिहास छ। यसपटकको प्रतियोगितामा प्रदेशभरका विभिन्न जिल्लाबाट २१ टोली सहभागी रहेका थिए।
फाइनल खेल भोलि दमकमा हुने आयोजक समितिले जानकारी दिएको छ।





