मोरङमा बुवा बितेपछि किरियापुत्री बसे दुई छोरी
बिराटनगर : छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका दुई दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् ।
धनकुटा जिल्लाको सान्ने घर भइ हाल मोरङ बिराटनगर महानगरपालिका वडा न. १४ मा गेस्ट हाउस सन्चालन गर्दै आएका बर्ष ४१ का नेत्र बहादुर पान्डेको असामयिक निधनपछि उनकी छोरीहरू डेनिसा पाण्डे र चेल्सिया पान्डे किरियामा बसेका हुन् । ४१ वर्षीय व्यवसायी पाण्डेको मिर्गौलामा समस्या देखिएर शनिबार निधन भएको थियो ।
आमा मैयाँ पान्डेसँगै दुई छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । दुवैले घाटमै पुगेर बाबुलाइ दागबत्ती दिएका थिए । रुढीबादी र गलत संस्कार तोड्दै आफूहरूले बाबुको किरिया गरिरहेको डेनिसाले बताइन् । ‘छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो,’ उनले भनिन्, ‘उहाँका सन्तान बहिनी र म मात्र हौं, बुवाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौं ।’ सुरुका केही दिन आफन्त र छिमेकीले असहज माने पनि अहिले प्रशंशा गरिरहेका उनले बताइन् ।





