रंग, रमाइलो र प्रतिभाको उत्सव : क्वेष्ट सेकेण्डरी स्कुलमा साना बालबालिकाको आकर्षक प्रस्तुति

एलएन गच्छदार

सुन्दरहरैँचा–८, मोरङ। विद्यालय केवल पढाइको थलो मात्र होइन, बालबालिकाको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने साझा चौतारी पनि हो। यही सोचलाई आत्मसात गर्दै सुन्दरहरैँचा–८ मा रहेको क्वेष्ट सेकेण्डरी स्कुलले ‘Yellow and Green Color Celebration’ तथा प्रि–प्राइमरी तहको नृत्य प्रतियोगिताको फाइनल कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

पहेँलो र हरियो रंगले सजिएको विद्यालय परिसरमा साना बालबालिकाको उल्लास, अभिभावकको उत्साह र शिक्षकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। बालबालिकाहरू आकर्षक पहिरनमा सजिएर विभिन्न गीत–संगीतमा नृत्य प्रस्तुत गर्दा विद्यालय परिसर नै रंगीन उत्सवमा परिणत भएको थियो।

कार्यक्रमको मुख्य आकर्षण प्रि–प्राइमरी तहको नृत्य प्रतियोगिताको फाइनल रह्यो। साना बालबालिकाले आफ्नो उमेरअनुसारको आत्मविश्वास र कला प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। उनीहरूको नृत्यले केवल मनोरञ्जन मात्र नभई बालप्रतिभाको उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्‍यो।

विद्यालयका संस्थापक प्रिन्सिपल दीपक क्षेत्रीले बालबालिकाको समग्र विकासका लागि अतिरिक्त क्रियाकलापको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, “पुस्तकमा सीमित शिक्षा मात्र पर्याप्त हुँदैन। बालबालिकाको प्रतिभा पहिचान गरी उनीहरूलाई अभिव्यक्त हुने अवसर प्रदान गर्नु आजको आवश्यकता हो। यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक व्यवहार विकास गर्न मद्दत पुर्‍याउँछ।”

उहाँका अनुसार विद्यालयले भविष्यमा पनि शैक्षिक गतिविधिसँगै कला, संस्कृति, खेलकुद तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

विद्यालयमा आयोजना गरिएका यस्ता कार्यक्रमले बालबालिकालाई मनोरञ्जन मात्र नभई सिकाइलाई अझ प्रभावकारी र जीवनोपयोगी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। रंग, संगीत र प्रतिभाको संगम बनेको यो कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई पनि थप सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *