पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता द्वन्द्वपीडितलाई उपचारमा शतप्रतिशतसम्म छुट, पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण

पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
द्वन्द्वपीडितलाई उपचारमा शतप्रतिशतसम्म छुट, पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण

काठमाडौं । पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच पूर्व प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका सदस्यका परिवारलाई उपचारमा विभिन्न छुट तथा विशेष सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौताअनुसार द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका पूर्व प्रहरीका परिवारले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भएर उपचार गराउँदा अस्पतालले उपलब्ध गराउने अन्तरंग विभागका सबै सेवाको शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यस्तो सुविधा परिषद्को सिफारिसपत्रका आधारमा एक सय जना सदस्यका परिवारलाई उपलब्ध गराइनेछ ।
उक्त सुविधा द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका सदस्यका आमा, बुबा, श्रीमान् वा श्रीमती तथा नाबालक दुई छोराछोरीलाई उपलब्ध हुनेछ । त्यस्तै, द्वन्द्वपीडितबाहेक परिषदमा आबद्ध अन्य पूर्व प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्यले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा अन्तरंग विभागका सबै सेवामा ५० प्रतिशत छुट पाउनेछन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भएर उपचार गराउँदा २५ प्रतिशत र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।
सम्झौताले द्वन्द्वपीडितका लागि थप विशेष सुविधा पनि सुनिश्चित गरेको छ । जसअनुसार पाँच जनासम्म द्वन्द्वपीडितलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराइनेछ ।
आकस्मिक उपचारका लागि अस्पताल पुग्ने परिषदमा आबद्ध बिरामीलाई २४ घण्टासम्म क्रेडिटमा उपचार सेवा उपलब्ध गराइनेछ । तर सम्झौताअनुसारको सहुलियत प्राप्त गर्न बिरामीको परिचय खुल्ने परिषद्को सिफारिसपत्र २४ घण्टाभित्र अस्पतालमा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । बिरामी अस्पताल पुगेको २४ घण्टाभित्र सम्बन्धित बिरामीको नाम उल्लेख भएको सिफारिसपत्र परिषद्ले अस्पताललाई उपलब्ध गराउनुपर्नेछ ।
काठमाडौं मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ । सोही क्रममा पूर्व प्रहरी कर्मचारी परिषद् नेपालमा आबद्ध पूर्व प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका सदस्यका परिवारलाई काठमाडौं मेडिकल कलेजअन्तर्गतका अस्पताल तथा विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार गराउँदा सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो ।
सम्झौताअनुसार आईभीएफ, सीटीभीएस, कलेजो प्रत्यारोपण, क्याबिन बसाइ, प्लास्टिक तथा कस्मेटिक सर्जरी र अन्य कस्मेटिक सर्जरीमा छुट उपलब्ध हुने छैन । त्यस्तै, इम्प्लान्ट, सर्जिकल सामग्रीलगायत चिकित्सासम्बन्धी सामग्री तथा औषधिमा पनि छुट लागू हुने छैन ।
नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य उपचारसम्बन्धी सुविधा, जस्तै स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोषलगायत सरकारी स्वास्थ्य सुविधा उपलब्ध भएमा ती सुविधा पूर्ण रूपमा उपयोग गरेपछि मात्र सम्झौताअनुसारको सहुलियत प्राप्त हुने व्यवस्था गरिएको छ ।
सम्झौता २०८३ साउन २९ गतेदेखि २०८४ असार मसान्तसम्म एक आर्थिक वर्षका लागि लागू हुनेछ । सम्झौतामा पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल, काठमाडौंका अध्यक्ष रमेश कुमार श्रेष्ठ र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक सुनील शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको सभापतित्व पूर्व प्रहरी कर्मचारी परिषद्का अध्यक्ष रमेश कुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले द्वन्द्वपीडितका नाममा आएको सहयोगसमेत वास्तविक पीडित प्रहरीले नपाएको अवस्था रहेको उल्लेख गर्दै उपचारमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सके अहिले देखिएका धेरै समस्या समाधान गर्न सकिने बताए ।
द्वन्द्वपीडितका लागि उपचारमा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यले विशेष सुविधा ल्याइएको उल्लेख गर्दै शर्माले अब कुनै पनि द्वन्द्वपीडित सदस्यले पैसा नभएका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षकहरू, अमर प्रहरीका परिवारजन तथा द्वन्द्वपीडित घाइतेहरूको समेत उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *