पहिलो वार्षिकोत्सवमा बाँडिएको खुसी : ६० विद्यार्थीका हातमा झोला, कापी र कलम
एलएन गच्छदार सुन्दरहरैँचा (मोरङ)
गछिया युवा समाजको पहिलो वार्षिकोत्सव यसपटक फरक ढंगले मनाइएको छ। उत्सवलाई आफ्नै खुसीमा सीमित नराखी समाजले लाटीझोडाको श्री श्रीलाल आधारभूत विद्यालय पुगेर ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
विद्यालयको पुरानो भवन र साधारण परिवेशबीच विद्यार्थीहरू नयाँ झोला र कापी–कलम बोकेर उभिँदा वातावरण नै उत्सवमय बनेको थियो। विशेषगरी ऋषिदेव समुदायका अधिकांश विद्यार्थीका आँखामा देखिएको खुसी, अभिभावकको अनुहारमा झल्किएको हर्ष र शिक्षकहरूको उत्साहले कार्यक्रमलाई औपचारिक समारोहभन्दा माथि उठाएको थियो।
कसैका लागि नयाँ झोला केवल विद्यालय जाने सामान थियो, तर ती बालबालिकाका लागि त्यो आफ्ना सपना बोकेर हिँड्ने एउटा नयाँ साथीजस्तै बनेको थियो। कापीका खाली पानामा उनीहरूले अक्षर मात्र होइन, आफ्नो भविष्य कोर्नेछन्। हातमा पुगेको कलमले उनीहरूका सपनालाई आकार दिनेछ।
गछिया युवा समाजका युवाहरूले विद्यार्थीका हातमा सामग्री थमाउँदै गर्दा बालबालिकाका अनुहारमा देखिएको मुस्कानले उनीहरूको पहिलो वार्षिकोत्सवको वास्तविक अर्थ झल्काइरहेको थियो।
“शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक सेवा : हाम्रो प्रतिबद्धता, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यालय झोला, कापी, पेन्सिललगायतका सामग्री वितरण गरिएको हो।
कार्यक्रम गछिया युवा समाजका अध्यक्ष सरोज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। सुन्दरहरैँचा–५ का वडा अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि थिए। चौधरीले वार्षिकोत्सवको अवसर पारेर बालबालिकाको शिक्षामा गरिएको सहयोगको प्रशंसा गर्दै गछिया युवा समाजले नगरलाई चिनाउने विभिन्न सामाजिक कार्य गर्दै आएको बताए।
कार्यक्रममा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापाले विद्यार्थीलाई दिइएको झोलालाई ‘भाग्य बोक्ने झोला’ र कापी–कलमलाई ‘भाग्य कोर्ने साधन’का रूपमा चित्रण गरे। उनले यस्तो सहयोगले विद्यार्थीको सुनौलो भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुग्ने बताए।
विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीले गछिया युवा समाजको सहयोगले विद्यालयमा ‘हर्षको आँधीबेहरी’ आएको अनुभूति भएको बताए। विद्यार्थीको आवश्यकता बुझेर गरिएको सहयोगका लागि उनले समाजप्रति धन्यवाद व्यक्त गरे।
समाजका अध्यक्ष दाहालले पहिलो वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। आगामी दिनमा शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक सेवाका क्षेत्रमा थप काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा सुन्दरपुर खानेपानीका अध्यक्ष, आदिवासी जनजाति महासंघ सुन्दरहरैँचाका अध्यक्ष सुमन राई, अभिभावक, शिक्षक, समाजका अगुवा तथा स्थानीयको उपस्थिति थियो।
पहिलो वार्षिकोत्सवमा गछिया युवा समाजले एउटा सुन्दर सन्देश छाडेको छ—वार्षिकोत्सव आफ्नो खुसी मनाउने दिन मात्र होइन, अरूको अनुहारमा खुसी ल्याउने दिन पनि हो।
लाटीझोडाका ६० बालबालिकाका हातमा पुगेका झोला, कापी र कलमसँगै उनीहरूको आँखामा पलाएको त्यो चमक नै गछिया युवा समाजको पहिलो वार्षिकोत्सवको सबैभन्दा ठूलो उत्सव बनेको छ।
