इन्द्रपुर नमुना माविको २४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, शैक्षिक तथा विज्ञान प्रदर्शनी आकर्षणको केन्द्र

एलएन गच्छदार 

सुन्दरहरैँचा (मोरङ) । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित इन्द्रपुर नमुना माध्यमिक विद्यालयले आफ्नो २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा नृत्य, गायन, नाटक, पुरस्कार वितरण लगायतका सिर्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो। साथै, यस वर्षको कार्यक्रमको विशेष आकर्षणका रूपमा शैक्षिक तथा विज्ञान प्रदर्शनी समेत आयोजना गरिएको थियो, जहाँ विद्यार्थीहरूले विज्ञान, प्रविधि तथा अन्य विषयसँग सम्बन्धित नविन परियोजनाहरू प्रस्तुत गरेका थिए। उक्त प्रदर्शनीले अभिभावक तथा अतिथिहरूको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख तेज बहादुर आचार्यले विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्दै विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा दिएको प्राथमिकताको प्रशंसा गरेका थिए।

त्यसैगरी, नगर प्याब्सन अध्यक्ष दीपक क्षेत्रीले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै सिर्जनशील गतिविधिमा जोड दिनुपर्ने बताउँदै इन्द्रपुर नमुना माविले उदाहरणीय कार्य गरिरहेको धारणा राखे।

विद्यालयका संस्थापक प्रिन्सिपल उत्सव थापाले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा र विद्यार्थीको बहुआयामिक विकासलाई प्राथमिकतामा राख्दै आएको बताए। उनले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यले नै विद्यालयलाई आजको स्थानमा पुर्‍याएको उल्लेख गरे।

कार्यक्रमअन्तर्गत नृत्य तथा गायन प्रतिस्पर्धा, नाटक प्रहसन, स्वागत मन्तव्य, विद्यार्थी मन्तव्य, शिक्षिका नृत्य, तामाङ सेलो लगायतका विविध प्रस्तुति प्रस्तुत गरिएका थिए। साथै, विधागत तथा वार्षिक उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण, शिक्षक तथा कर्मचारी सम्मान, अभिभावक सम्मान र भाग्यशाली अभिभावक छनोट जस्ता कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो।

विद्यालयका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *