समुदायमै रोग पहिचान र सूचना प्रवाह गर्न अभिमुखीकरण
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–२, मृगौलियामा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी सामुदायिक सरोकारवालाका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
वडा कार्यालयमा आयोजित कार्यक्रम स्वास्थ्य शाखाको आयोजनामा भएको हो। **पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट नेपाल (PHRD Nepal)**को सहयोगमा आयोजित कार्यक्रममा वडा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूह, युवा क्लब तथा विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग निगरानी प्रणाली, संक्रामक रोगका प्रारम्भिक लक्षण पहिचान, परीक्षण, रोग निगरानीको चक्र तथा समुदायमा असामान्य स्वास्थ्य घटना देखिए तत्काल सूचना प्रवाह गर्ने प्रक्रियाबारे जानकारी दिइएको थियो। साथै, यौनजन्य हिंसा, महिला तथा बाल हिंसा र सामाजिक विकृतिका विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा कुनै पनि संक्रमण वा असामान्य स्वास्थ्य समस्या देखिनेबित्तिकै स्वास्थ्य संस्थालाई जानकारी गराउन सके रोग नियन्त्रण तथा व्यवस्थापनमा सहज हुने बताइएको थियो। प्रारम्भिक चरणमै सूचना प्राप्त भए तत्काल प्रतिकार्य गर्न सकिने भएकाले रोगको पहिचान र उपचारसँगै सम्भावित प्रकोप तथा महामारीबाट हुने मानवीय र आर्थिक क्षति न्यूनीकरण गर्न समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो।
“सम्भावित महामारी नियन्त्रण गर्न, तत्काल मृत्यु रोक्न र दीर्घकालीन रूपमा हुन सक्ने अपाङ्गता कम गर्न समुदायको भूमिका निर्णायक हुन्छ,” कार्यक्रममा सहभागी वक्ताले बताए।
समुदायमा हुने महिला हिंसा, बाल हिंसा तथा अन्य गलत गतिविधिबारे सम्बन्धित निकाय र प्रहरीलाई समयमै जानकारी गराउनुपर्नेमा समेत जोड दिइएको थियो। गलत सोच तथा व्यवहार परिवर्तनका लागि मनोपरामर्श र जनचेतनामूलक गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।
कार्यक्रममा विगतमा संक्रामक रोगका कारण बालबालिकासमेत प्रभावित भएको अवस्थालाई स्मरण गर्दै जनस्वास्थ्यसँग सम्बन्धित अनपेक्षित घटना, संक्रामक रोग तथा त्यसका लक्षणको तथ्यांक समुदायस्तरबाटै निरन्तर संकलन र सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
अभिमुखीकरणमा सहभागीलाई संक्रामक रोगका प्रारम्भिक लक्षण पहिचान गर्ने, समुदायमा असामान्य स्वास्थ्य घटना देखिए तत्काल स्वास्थ्यकर्मीलाई खबर गर्ने, सतर्कता अपनाउने तथा रोग नियन्त्रणका लागि आवश्यक प्रतिकार्यमा सहयोग गर्ने विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा सुन्दरहरैंचा–२ का वडा अध्यक्ष विवस प्रधानले समुदायमा रोगको प्रारम्भिक अवस्था पहिचान गरी समयमै सूचना प्रवाह गर्न सके सम्भावित महामारी तथा जनस्वास्थ्य जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए।
कार्यक्रममा वीरेन्द्र उराँव, सम्झना राई र सुम्निमा कार्कीले सहजीकरण गरेका थिए। सहभागीलाई तुरुन्त खबर गर्नुपर्ने अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षणसम्बन्धी हस्तपुस्तिका समेत वितरण गरिएको थियो।
कार्यक्रमले समुदायबाटै जनस्वास्थ्यसम्बन्धी जोखिमको प्रारम्भिक पहिचान गरी सम्बन्धित स्वास्थ्य निकायसम्म समयमै सूचना पुर्याउने संयन्त्रलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।




