नेशनल प्याब्सन कोशी प्रदेशस्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

सुन्दरहरैंचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेश कार्यसमितिको आयोजनामा प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी आयोजित प्रदेशस्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

सुनसरीको इनरुवा–३ स्थित ॐसाई पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ३० विद्यालयका १५० विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीको लेखन सीप, सिर्जनशीलता, कलात्मक क्षमता तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत माध्यमिक तह अंग्रेजी हस्तलेखनतर्फ अभा इंगलिस स्कुल प्रथम, ग्रीन पीस एकेडेमी द्वितीय र हिमालय इंगलिस स्कुल तृतीय भएका छन्। प्राथमिक तह अंग्रेजी हस्तलेखनतर्फ रेस्नल एकेडेमी प्रथम, हरित तारा स्कुल द्वितीय र अभा इंगलिस स्कुल तृतीय भएका छन्।

त्यस्तै, माध्यमिक तह नेपाली हस्तलेखनतर्फ अरिहन्त इंगलिस बोर्डिङ स्कुल प्रथम, हिमालय इंगलिस स्कुल द्वितीय र जेभियर इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन्। प्राथमिक तह नेपाली हस्तलेखनतर्फ रेस्नल एकेडेमी प्रथम, हरित तारा स्कुल द्वितीय र अरिहन्त इंगलिस बोर्डिङ स्कुल तृतीय भएका छन्।

चित्रकला प्रतियोगिताको प्राथमिक तहतर्फ ग्रीन पीस एकेडेमी प्रथम, अभा इंगलिस स्कुल द्वितीय र मोरङ ज्ञानोदय तृतीय भएका छन्। यस्तै, माध्यमिक तह चित्रकलातर्फ मोरङ ज्ञानोदय प्रथम, अभा इंगलिस स्कुल द्वितीय र अरिहन्त इंगलिस बोर्डिङ स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

कार्यक्रममा नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनाल र नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले विद्यार्थीको प्रतिभा कक्षाकोठाभित्रको अध्ययनमा मात्र सीमित नराखी लेखन, कला तथा सिर्जनशील गतिविधिमार्फत उजागर गर्नुपर्ने बताए। यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै उनीहरूको प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

त्यस्तै, केन्द्रीय सदस्य ढकालले विद्यार्थीको सिर्जनात्मक क्षमता र मौलिक प्रतिभालाई प्रोत्साहन गर्नु शैक्षिक क्षेत्रको महत्वपूर्ण दायित्व भएको बताए। उनले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर उपलब्ध गराउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेशनल प्याब्सन सुनसरीका अध्यक्ष एवं कार्यक्रम संयोजक खगेन्द्र केसी, नेशनल प्याब्सन मोरङका सचिव भनीरुद्र चौधरी लगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण नेशनल प्याब्सन कोशी प्रदेश सचिव सुरेन्द्र चौधरीले गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *