सुन्दरहरैँचामा २४ विद्यालयबीच क्विज भिडन्त, प्रतियोगिताका नियमबारे शिक्षक प्रतिनिधिलाई जानकारी

एलएन गच्छदार 

सुन्दरहरैँचा । विद्यार्थीमा ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचामा अन्तरविद्यालयस्तरीय ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ आयोजना हुने भएको छ।

प्रतियोगिताको तयारीबारे सफल सिद्धार्थ एकेडेमी, सुन्दरहरैँचा–५ बाँसबारीमा रहेको सृजनशील बाल क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो। प्रतियोगितामा सहभागी हुने विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरूको उपस्थितिमा आयोजकले प्रतियोगिताको नियम, चरण, प्रश्नको प्रकृति, अंक प्रणाली तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराएको थियो।

सफल सिद्धार्थ एकेडेमीको सहकार्यमा हुने प्रतियोगितामा सुन्दरहरैँचा, इटहरी तथा आसपासका क्षेत्रका २४ विद्यालय सहभागी हुने आयोजकले जनाएको छ। प्रत्येक विद्यालयबाट चार जना विद्यार्थीको टोली रहनेछ, जसमा तीन जना मुख्य खेलाडी र एक जना रिजर्भ खेलाडी रहने व्यवस्था गरिएको छ।

प्रतियोगितामा विद्यार्थीको सामान्य ज्ञानसँगै समसामयिक विषय, इतिहास, भूगोल, भाषा, धर्म, कला–संस्कृति, साहित्य, खेलकुद, आईक्यू तथा तार्किक क्षमता, विज्ञान र प्रविधि लगायतका विषय समेटिनेछन्। प्रतियोगितालाई थप रोचक तथा प्रतिस्पर्धात्मक बनाउन अडियो राउन्ड, भिजुअल राउन्ड र र्‍यापिड फायर राउन्ड समेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

भिजुअल राउन्डमा फोटो, चित्र, लोगो, स्थान, व्यक्ति तथा वस्तु पहिचानसम्बन्धी प्रश्न समावेश गरिनेछ। यस्तै र्‍यापिड फायर राउन्डमा छोटो समयमा लगातार प्रश्नको उत्तर दिनुपर्नेछ। प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीको ज्ञानसँगै तत्काल निर्णय गर्ने क्षमता, तार्किक सोच, आत्मविश्वास र समूहगत सहकार्यलाई समेत परीक्षण गरिने आयोजकको भनाइ छ।

पत्रकार सम्मेलनमा सफल सिद्धार्थ एकेडेमीका प्रिन्सिपल राजन लम्सालले विद्यालय तहमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले विद्यार्थीको क्षमता केवल कक्षाकोठा र पाठ्यपुस्तकमा सीमित नरहने भन्दै अतिरिक्त क्रियाकलापमार्फत उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिन आवश्यक रहेको बताए। क्विज प्रतियोगिताले विद्यार्थीमा ज्ञानको दायरा फराकिलो बनाउनुका साथै तार्किक सोच, तत्काल निर्णय गर्ने क्षमता, सार्वजनिक रूपमा प्रस्तुत हुने आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने लाम्सालको भनाइ छ।

“प्रतियोगिता जित्ने एउटा टोली हुन्छ, तर सहभागी सबै विद्यार्थीले ज्ञान, अनुभव र आत्मविश्वास लिएर फर्किने वातावरण बनाउन खोजिएको छ,” लाम्सालले भने। विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकलाई एउटै मञ्चमा जोडेर आपसी सिकाइ, सहकार्य र मित्रताको वातावरण निर्माण गर्नु पनि प्रतियोगिताको उद्देश्य रहेको उनले बताए।

प्रतियोगिताको पुरस्कार राशि २० हजार रुपैयाँ रहेको छ। प्रथम हुने टोलीले ८ हजार रुपैयाँ, द्वितीय हुनेले ६ हजार रुपैयाँ र तृतीय हुने टोलीले ४ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी सबै टोलीलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

सृजनशील बाल क्लबले प्रतियोगितालाई विद्यालयबीचको जित–हारमा मात्र सीमित नगरी विद्यार्थीको प्रतिभा पहिचान, ज्ञान आदानप्रदान, स्वस्थ प्रतिस्पर्धा र आपसी सम्बन्ध विस्तार गर्ने शैक्षिक अभियानका रूपमा अघि बढाउन खोजिएको जनाएको छ।

पत्रकार सम्मेलनमा सहभागी विद्यालयका शिक्षक प्रतिनिधिहरूलाई प्रतियोगिताका नियम तथा सञ्चालन प्रक्रियाबारे स्पष्ट जानकारी दिइएको थियो। आयोजकले प्रतियोगिता सफल बनाउन सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, निर्णायक मण्डल, सञ्चारकर्मी तथा शुभेच्छुक सबैको सहयोग आवश्यक रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *