नेसनल प्याब्सन कोशी प्रदेश अधिवेशन : नयाँ नेतृत्वमा खनाल निर्बिरोध चयन
सुन्दरहरैँचा (मोरङ)
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशन शनिबार मोरङको सुन्दरहरैँचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा भव्य रूपमा सम्पन्न भयो। अधिवेशनले हिमालय इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्दै प्रदेशस्तरको नेतृत्व नयाँ ऊर्जा र अपेक्षासहित हस्तान्तरण गरेको छ।
नयाँ नेतृत्व, नयाँ अपेक्षा
अधिवेशनबाट उपाध्यक्षमा झापाका दीपक न्यौपाने, सचिवमा सुनसरीका सुरेन्द्र चौधरी, सहसचिवमा झापाकै सुवर्ण भट्टराई र कोषाध्यक्षमा मोरङका सन्तोष कुमार राई निर्विरोध चयन भए। सदस्यहरूमा उमेश महतो, लोक बहादुर रोका, महेन्द्र कुमार राई तथा धिरज नारायण गणेश चयन हुँदा सल्लाहकारमा कुमार विक्रम खवास मनोनित भए।
यो नेतृत्व चयनले संगठनलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउने विश्वास लिइएको छ।
निजी शिक्षा : चुनौती र सम्भावना
अधिवेशनका प्रमुख अतिथि नेसनल प्याब्सनका निवर्तमान राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताउँदै अब समयअनुसार गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए।
उनको भनाइमा, निजी विद्यालयहरू केवल शिक्षण संस्था मात्र नभई देशको भविष्य निर्माण गर्ने आधारस्तम्भ हुन्। प्रतिस्पर्धात्मक मात्र नभई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनेतर्फ उन्मुख हुनु अहिलेको आवश्यकता हो।
विशिष्ट अतिथि तथा केन्द्रीय सदस्य नारायण ढकालले पनि संगठनलाई एकताबद्ध र प्रभावकारी बनाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको उल्लेख गरे। उनले प्रदेशबाट सुरु भएका सकारात्मक प्रयासहरूलाई राष्ट्रिय तहसम्म विस्तार गर्नुपर्ने धारणा राखे।
सम्मान र प्रेरणा
कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरू— सुबिद गुरागाईं, योगेन्द्र योगी, एलएन गच्छदार, शिव भट्टराई भोजपुरे र सुरज माझी—तथा विभिन्न प्रकाशनका प्रमुखहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले यो सम्मानले आफ्नो जिम्मेवारी अझ बढाएको अनुभूति व्यक्त गरे।
सहभागिता र सक्रियता
अधिवेशनमा झापा, मोरङ र सुनसरीलगायत विभिन्न जिल्लाबाट आएका अध्यक्ष, प्रतिनिधि, विद्यालय सञ्चालक तथा शिक्षासेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो, जसले निजी शिक्षा क्षेत्रप्रति बढ्दो चासो र सक्रियता झल्काएको छ।
खनालको प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष कमल खनालले संगठनलाई थप गतिशील, प्रभावकारी र शिक्षामुखी बनाउने प्रतिबद्धता जनाउँदै सबैको सहकार्य अपरिहार्य रहेको बताए। उनले प्रदेशभरका निजी विद्यालयहरूको हक–हित संरक्षण, गुणस्तरीय शिक्षा अभिवृद्धि र संस्थागत समन्वयलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।
तेस्रो अधिवेशनले केवल नेतृत्व चयन मात्र होइन, निजी शिक्षा क्षेत्रको भावी दिशालाई पनि संकेत गरेको छ। नयाँ कार्यसमितिबाट शिक्षा सुधार, संस्थागत सुदृढीकरण तथा शिक्षक–विद्यार्थीको समग्र विकासमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।




