हरैंचा मोडेलको आत्मविश्वास : नवआगन्तुक विद्यार्थीलाई स्वागतसँगै उत्कृष्ट शिक्षाको प्रतिबद्धता
नयाँ सपना बोकेर कक्षा ११ मा प्रवेश गरेका विद्यार्थीहरूको अनुहारमा उत्साह थियो, मनमा भविष्यप्रतिको सपना थियो। त्यही उत्साहलाई थप ऊर्जा दिँदै मोरङको सुन्दरहरैंचा नगरपालिका–१ स्थित हरैंचा मोडेल सेकेण्डरी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य कार्यक्रमबीच स्वागत गरेको छ।
विद्यालयको स्वागत कार्यक्रममा विद्यार्थीलाई केवल औपचारिक रूपमा स्वागत गरिएन, उनीहरूको भविष्य निर्माणका लागि विद्यालयले अघि सारेको शैक्षिक यात्रा, प्रविधिमैत्री शिक्षा र उत्कृष्ट नतिजाको प्रतिबद्धता पनि प्रस्तुत गरियो।
कार्यक्रमको उद्घाटन गर्दै सुन्दरहरैंचा–१ का वडाध्यक्ष राम विश्वास खवासले विद्यार्थीलाई मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्न आग्रह गरे। उनले हरैंचा मोडेलले शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
विद्यालयका प्रिन्सिपल रुद्र थापाले समयसँगै विकसित हुँदै गएको प्रविधिलाई शिक्षासँग जोडेर विद्यालय अघि बढिरहेको बताए। सुन्दरहरैंचा मात्र नभई नजिकका ग्रामथान र बूढीगंगा गाउँपालिकाका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय अघि बढिरहेको उनको भनाइ थियो।
हरैंचा मोडेलमा कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र कम्प्युटर साइन्स लगायतका विषयमा पठनपाठन हुँदै आएको छ। विद्यार्थीको रुचि, क्षमता र भविष्यको सम्भावनालाई केन्द्रमा राखेर व्यावहारिक तथा प्रविधिमैत्री शिक्षामा विद्यालयले जोड दिँदै आएको छ।
शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्ने व्यवस्था समेत विद्यालयले गर्दै आएको छ। उत्कृष्ट नतिजाका लागि विद्यार्थीलाई निरन्तर प्रेरित गर्नु विद्यालयको प्राथमिकता रहेको व्यवस्थापन पक्षको भनाइ छ।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक प्रस्तुतिले स्वागत समारोहलाई थप जीवन्त बनायो। कौडा नृत्य, राष्ट्रिय भावनाले ओतप्रोत गीत तथा नृत्य, गायन प्रस्तुतिका साथै विभिन्न जातजातिका मौलिक भेषभूषा झल्काउने नृत्य प्रस्तुत गरिए। विद्यार्थीको प्रतिभा र सांस्कृतिक विविधताको प्रस्तुतिले उपस्थित अभिभावक तथा अतिथिको ध्यान तानेको थियो।
कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक घनश्याम रिमालको अध्यक्षतामा सम्पन्न भएको थियो। रिमालले विद्यालयले हालसम्म शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको बताउँदै नगर तथा जिल्लास्तरमा समेत विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको जानकारी दिए।
हरैंचा मोडेलको यो स्वागत कार्यक्रम नयाँ विद्यार्थीका लागि विद्यालय प्रवेशको औपचारिक सुरुवात मात्र थिएन, आफ्नो भविष्यप्रति जिम्मेवार बन्ने प्रेरणाको क्षण पनि बन्यो। शिक्षा, प्रविधि, संस्कार र प्रतिभालाई सँगसँगै अघि बढाउने विद्यालयको प्रयासले विद्यार्थीको शैक्षिक यात्रालाई थप अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।
