प्याबसन सुन्दरहरैंचाको स्पेलिङ कन्टेस्ट–२०८३ सम्पन्न

एलएन गच्छदार / सुन्दरहरैंचा 

 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन) सुन्दरहरैंचा नगर कार्यसमितिको आयोजनामा अन्तरविद्यालय पालिकास्तरीय स्पेलिङ कन्टेस्ट–२०८३ विराटचोकस्थित जेसिज हलमा सम्पन्न भएको छ।

कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाका २६ वटा विद्यालय सहभागी भएका थिए। प्रतियोगितामा ग्रुप ‘ए’ मा ९, ग्रुप ‘बी’ मा ९ र ग्रुप ‘सी’ मा ८ वटा विद्यालय सहभागी थिए।

प्रतियोगिताबाट ४ः१ को अनुपातमा ८ वटा विद्यालय छनोट गरी जिल्ला स्तरीय प्याबसन स्पेलिङ प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ।

प्रतियोगिताको ज्युरी टिमको संयोजकमा रामप्रसाद आचार्य तथा सदस्यमा गोपाल पाठक रहेका थिए भने स्पेलिङ प्रस्तोताको भूमिका चेतनाथ निरौलाले निभाएका थिए।

कार्यक्रम समापन गर्दै प्याबसन सुन्दरहरैंचा नगर अध्यक्ष दीपक क्षेत्रीले स्पेलिङ कन्टेस्टले विद्यार्थीमा अंग्रेजी भाषाप्रतिको रुचि बढाउनुका साथै आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यालयमा नियमित पढाइसँगै विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षक, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरिन्।

त्यस्तै, प्याबसन मोरङ अध्यक्ष जगतबहादुर बस्नेतले विद्यालय तहदेखि नै विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना र अतिरिक्त ज्ञानको विकास गराउन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए। उनले जिल्ला स्तरीय प्रतियोगिताका लागि छनोट भएका विद्यालयलाई शुभकामना दिए।

प्रतियोगितामा ब्राइट फ्युचर सेकेण्डरी स्कुल प्रथम, प्रभात किरण दोस्रो, बाल सदन तेस्रो, स्कलर्स होम चौथो र सुबिजिमुर पाँचौँ भएका छन्।

कार्यक्रममा प्याबसन जिल्ला सचिव देवी सिटौला, सहसचिव दिपेन राई, कार्यपालिका सदस्य रुकमणि घिमिरे लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको थियो। आयोजकले प्रतियोगिताले विद्यार्थीको भाषिक क्षमता, ज्ञान र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *