लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको अनावरण
योगेन्द्र योगी
विराटनगर : कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा विभिन्न भाषामा (लिम्वु, मैथिली, राई र थारु) निर्माण गरिएको लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा अनावरण गरिएको छ ।
मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कार्कीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुक साथै लिम्वु, मैथिली, राई र थारु भाषामा निर्माण गरिएको लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य समाग्रीको अनावरण गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
श्रव्यदृश्य समाग्रीको अनावरण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री कार्कीले हालको वर्तमान अवस्थामा बढ्दै गईरहेको लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रणको लागि कोशी प्रदेश प्रहरी कार्यालयले विभिन्न भाषामा निर्माण गरेको सचेतना मुलक श्रव्यदृष्य सामग्रीले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास दिलाउदै यस भिडियोलाई जनमानसमा पुर्याई प्रत्येक आमाहरुसंग समन्वय र सहकार्य गरी समाजमा लागुऔषध दुर्व्यसन नियन्त्रणको लागि सचेतना फैलाउन सबैमा आग्रह गरे।
साथै उनले बढ्दो लागुऔषध दुर्व्यवसनलाई नियन्त्रण गर्न यो भिडियो कोषेढुंगा सावित हुने बताउँदै भिडियो निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालय लगायत सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त पनि दिए।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, सामाजिक विकास मन्त्री मा. पाँचकर्ण राईले समेत आ-आफ्नो मन्तव्य राखेका थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले प्रमुख अतिथि लगायत उपस्थित सबैमा स्वागत मन्तव्य राखेका थिए।





