संघर्षदेखि सफलतासम्म : बोटसँग ओठमा पसिना झार्दै सफल बनेका मोरङका दिनेश माझी

एल.एन. गच्छदार / सुन्दरहरैंचा, मोरङ

शुरूमा न सपना ठूलो थियो, न हातमा ठूलो लगानी। थियो त केवल विश्वास, परिश्रममाटोप्रतिको माया । त्यही विश्वासलाई थामेर मोरङ ग्रामथानका दिनेश माझी बीस वर्षअघि इलामको हरियो पहाडमा पुग्दा उनको उद्देश्य स्पष्ट थियो -“अरूले रोजगारी खोज्ने होइन, म रोजगारी दिने मान्छे बन्ने।”

  •  बोटसँग ओठमा पसिना झार्दै सुरु भएको यात्रा

बाल्यकाल साधारण थियो, तर सोच असाधारण। गाउँमा हुँदा उनी सधैं खेतका बोटहरू हेर्दै सोच्थे — यिनै बोटहरूले पनि मसँग कुरा गर्छन्।त्यो बालसुलभ आत्मीयता नै पछि उनको जीवनको दिशानिर्देशक बन्यो।

२० वर्षअघि उनले इलाममा कसैको चिया उद्योगमा सामान्य कामदारका रूपमा यात्रा सुरु गरे। त्यहाँ उनले सिके – चिया बनाउन मात्र होइन, सपना पाल्न पनि धैर्य चाहिन्छ। त्यो अनुभव र अथक मेहनतकै आधारमा उनले इलामको  सूर्योदय नगरपालिका–८ मा  रक्तकाली टि स्टेट प्रा.लि. स्थापना गरे।

ओठमा पसिना, हातमा काठको डल्ला र मनमा दृढ इच्छाशक्ति — यिनै तीन कुराले बनायो उनलाई उद्यमी दिनेश माझी।आज त्यही बोटबीच उभिँदा उनी आफूलाई भाग्यमानी ठान्छन्, किनभने जहाँ कहिल्यै मालिक थिएनन्, अब त्यही ठाउँमा उनी दर्जनौं युवाको रोजगारीको आशा बनेका छन्।

श्रीअन्तु जाने बाटोमा पर्ने उनको टि स्टेट अहिले पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।पर्यटकहरू त्यहाँ पुग्छन् — हरियो चिया बगानबीच सेल्फी खिच्न, टिकटक बनाउन र चियाको तातो चुस्कीमा पहाडको माया घोल्न।
त्यो दृश्य देख्दा लाग्छ, संघर्षको फल साँच्चै मीठो हुन्छ।

  •  चिया मात्र होइन, सपनाको प्रशोधन केन्द्र

दिनेश माझीको “रक्तकाली टि स्टेट” केवल चिया प्रशोधन केन्द्र होइन, यो त उनका सपनाको कारखाना हो। यहाँ ओली बोय, सिलाजित र अन्य जडीबुटीजन्य प्रशोधन गरी प्याकेजिङ्ग र उत्पादनहरू पनि तयार हुन्छन्।
उनले स्थानीय किसानका उत्पादन संकलन गर्छन्, गुणस्तर सुधार गर्छन् र बजारसम्म पुर्‍याउँछन्।

उनको मनमा एउटा विश्वास गहिरो छ – “विदेश जानु नै सफलता होइन, आफ्नै देशमा केही सिर्जना गर्नु नै गर्व हो।” २० वर्षको यात्राले उनलाई सफल उद्यमी मात्र होइन,सामाजिक उत्तरदायित्वबोध भएको नागरिक पनि बनाएको छ।मोरङ ग्रामथानदेखि इलामसम्मका युवाहरूलाई उनले सिकाएका छन् –काम सानो हुँदैन, सोच ठूलो हुनुपर्छ।

  •  स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारसम्म

रक्तकाली टि स्टेटको उत्पादन अहिले नेपालमै सीमित छैन।साउदी अरब, दुबई र युरोपका बजारमा पनि उनको चियाको सुगन्ध फैलिएको छ।नेपालको माटो र पसिनाको स्वाद अब अन्तर्राष्ट्रिय कपमा पिइन थालिएको छ। थारु समुदायका रूपमा चिया व्यवसायमा पहिलो व्यक्ति मानिने दिनेश माझी भन्छन् – “सपना देख्ने मान्छे मात्र सफलताको शिखरमा पुग्छ।”

  •  ‘सनेश’  प्रेम र माटोको कोशेली

मोरङका यो माटोले हुर्काएको छोराले आफ्नो ब्रान्डलाई दिएको नाम पनि अर्थपूर्ण छ – सनेश। थारु भाषाकै शब्द हो सनेश नेपाली भाषामा  यसको अर्थ कोशेली हो।
माटोको माया, श्रमको सम्मान र आत्मनिर्भरताको भावना – यी सबै भाव ‘सनेश’ शब्दमै मिसिएका छन्। उनको ब्रान्ड जस्तै उनको सोच पनि गहिरो छ -देशमै अवसर खोज्न, आफ्नै गाउँमा परिवर्तन ल्याउन र आफ्नै हातले भविष्य लेख्न सकिन्छ भन्ने प्रमाण दिनु।

  • माटोमा जन्मिएको प्रेरणा

दिनेश माझीको कथा कुनै काल्पनिक प्रेरणा होइन, यो माटोमा जन्मिएको वास्तविक संघर्षको सुगन्ध हो। बोटसँग ओठमा पसिना साट्दै सुरु भएको यात्रा आज सयौं युवाको स्वप्ना बनेको छ।उनले प्रमाणित गरेका छन् -“यदि माटोमा विश्वास छ भने, सफलताको बीउ त्यहीँ अंकुरिन्छ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *