बर्जुमा थारु कल्याणकारीणी सभाद्वारा सम्मान, शुभकामना र सांस्कृतिक प्रस्तुतीसहितको भव्य कार्यक्रम

एलएन गच्छदार, सुन्दरहरैंचा

सुनसरी जिल्लाको बर्जु गाउँपालिका–१, इरुवा टोलमा तिहार तथा छठ पर्वको अवसरमा थारु कल्याणकारीणी सभा बर्जु गाउँपालिका कार्य समितिको आयोजनामा शुभकामना आदानप्रदान, सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा थारु समुदायको सांस्कृतिक विविधता झल्किने विभिन्न प्रस्तुति र सम्मानका क्षणहरूले वातावरण उत्सवमय बनेको थियो।

कार्यक्रमको सभाध्यक्षता थारु कल्याणकारीणी सभा (थाकस) बर्जुकी उपसभापति बिना चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि थाकस केन्द्रीय उपसभापति पुनितलाल चौधरी रहनुभएको थियो। विशेष अतिथिका रूपमा दुहबी नगरप्रमुख बेदनारायण गच्छदारले थारु समुदायको मौलिक संस्कृति र परम्परालाई जगेर्ना गर्ने यस्ता कार्यक्रमहरूको महत्व औंल्याउँदै, समुदायबीच एकता र गौरव बढाउने कार्यमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा थारु समुदायको पौराणिक नृत्य ‘धुमरा’, देउसी–भैलो, थारु लोकगीत तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूले दर्शकको मन जितेका थिए। थारु कलाकारहरूको आकर्षक प्रस्तुतीले कार्यक्रम स्थल उत्साह र तालमा रमाएको थियो।

सो अवसरमा थारु समाज र समुदायको उत्थानमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानितहरूमा कोशी प्रदेश योजना आयोगकी सदस्य डा. प्रमिला गच्छदार, हृदय रोग विशेषज्ञ डा. प्रितम गच्छदार, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रा. गंगाराम चौधरी, थाकस जिल्ला सदस्य मनोज गच्छदार, साथै अन्य समाजसेवी व्यक्तित्वहरू रहेका थिए।

कार्यक्रमको सफल संयोजनमा कार्यक्रम संयोजक श्रवण चौधरीको सक्रिय भूमिका रह्यो। उहाँले कार्यक्रममा थारु संस्कृति, कला र परम्पराको जगेर्ना र नयाँ पुस्तामा सांस्कृतिक चेतना जगाउने उद्देश्य रहेको बताए।

थारु समुदायको मौलिक परम्परा, पहिचान र ऐक्यबद्धता झल्काउने यो कार्यक्रमले सहभागी सबैलाई एकताबद्ध बनाएको र संस्कृतिको सम्मान गर्ने प्रेरणा दिएको आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *