समाजको लागि बाँच्ने होनहार युवा : पुष्पे थारुको नाममा स्मृति पार्क

सुन्दरहरैंचा,  एलएन गच्छदार ।
समाजसेवामा जीवन समर्पण गरेका स्व. पुष्प कुमार चौधरी ‘पुष्पे थारु’ को स्मृतिमा आगामी कार्तिक ७ गते जमजितियाको अवसरमा ‘पुष्पे थारु स्मृति पार्कको शिलान्यास हुने भएको छ।

थारु समुदायका सक्रिय युवा नेता पुष्पे थारुको नाममा बन्न लागेको यो पार्क उनको जन्मस्थल सुनसरी जिल्ला  दैता, बर्जु गाउँपालिका–६ मा निर्माण गरिने थारु कला केन्द्रका उपाध्यक्ष सुनिल चौधरीले जानकारी दिएका छन्।
उनका अनुसार पार्कको शिलान्यास पूर्व उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको प्रमुख आतिथ्यतामा हुनेछ।

स्व. पुष्पे थारु समाजसेवा, सांस्कृतिक संरक्षण र युवा नेतृत्वमा एक परिचित नाम थिए। उनी थारु कला केन्द्रका सचिव, दैता युवा समूहका अध्यक्ष साथै दर्जनौं सामाजिक संघसंस्थामा जिम्मेवारीका साथ संलग्न थिए।
सामाजिक चेतना र विकासका हरेक पहलमा उनी सदैव अग्रमोर्चामा रहने युवा थिए।

तर, समाजले आशा गरेको त्यो होनहार युवा २८ वर्षको उमेरमै एक दुखद सवारी दुर्घटनामा परी असमयमै गुमायो।
उनको असामयिक निधनले परिवार, मित्र, समुदाय र सम्पूर्ण क्षेत्र शोकमा डुबेको थियो। अब उनको स्मृतिमा बन्ने यो पार्कले मात्र उनको सम्झना जीवित राख्ने होइन, आगामी पुस्ताका लागि प्रेरणाको थलो बन्ने विश्वास गरिएको छ।
स्थानीयवासीहरूको भनाइमा, “पुष्पेले समाजका लागि जे गर्न सकेनन्, त्यो सपना अब यो स्मृति पार्कमार्फत पूरा हुनेछ।”

स्व. पुष्पे थारु – समाजसेवामा समर्पित, युवा ऊर्जाको प्रतिक, र समुदायको गौरव।

Leave a Reply

Your email address will not be published. Required fields are marked *