बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी जिल्ला तानिए, अभिव्यक्तिबारे सोधपुछ सुरु
धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हौँ’ भन्ने अभिव्यक्ति दिएका इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोधपुछका लागि बोलाएको छ।
घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा दिएको उनको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरीले घटनाबारे जानकारी लिन उनलाई जिल्ला तानेको हो।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरेका छन्।
कार्यक्रममा बोल्दै डीएसपी चौधरीले, “हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हौँ। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हौँ। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो,” भन्ने अभिव्यक्ति दिएका थिए।
उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको भिडियोमा देखिन्छ।
भाषणका क्रममा उनले नेपाल प्रहरीले लगाएको बर्दी राष्ट्रपति स्वयंले पनि लगाउन नमिल्ने उल्लेख गर्दै आफू २०७० सालमा कडा प्रतिस्पर्धाबाट छनोट भएर प्रहरी सेवामा प्रवेश गरेको बताए। साथै, “हामी भोट हालेर, टीका लगाएर वा दारु–भात खाएर आएका होइनौँ,” भन्ने अभिव्यक्तिसमेत दिएका थिए।
डीएसपी चौधरीले उक्त भाषणको भिडियो सार्वजनिक नगर्न आग्रह गरेको सुनिए पनि त्यसको विपरीत भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषय चर्चामा आएको हो।
कैलाली प्रहरीले भने यो विषयमा औपचारिक छानबिन नभई डीएसपी चौधरीले उक्त अभिव्यक्ति कुन सन्दर्भमा र किन दिएका हुन् भन्नेबारे सामान्य सोधपुछका लागि मात्र जिल्ला बोलाइएको जनाएको छ।
