धनकुटामा होटल अनुगमन : अखाद्य सामग्री बरामद, काफ्ले होटललाई १५ हजार जरिवाना

धनकुटा । धनकुटा सदरमुकामका होटल तथा रेष्टुरेन्टमा गरिएको छड्के बजार अनुगमनका क्रममा अखाद्य खाद्य सामग्री बरामद गरिएको छ भने खाद्य स्वच्छताको मापदण्ड उल्लंघन गरेको आरोपमा काफ्ले होटललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च तथा नेपाल पत्रकार महासंघ धनकुटाको संयुक्त टोलीले बुधबार हुलाकटोल क्षेत्रका होटलहरूमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा काफ्ले होटलको भान्सा अस्वच्छ रहेको, पुरानो तेल प्रयोग गरी खाना पकाइएको तथा खाद्य स्वच्छताको न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए।

टोलीले विभिन्न होटलबाट म्याद गुज्रिएका खाद्य सामग्री तथा तयारी खानेकुरा बरामद गरी नष्ट गरेको छ। साथै केही होटलमा मूल्यसूची नराखिएको, खान अयोग्य खाद्य सामग्री बिक्रीका लागि राखिएको तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार सेवाग्राहीबाट लगातार गुनासो आएपछि आकस्मिक बजार अनुगमन गरिएको हो। उनले होटल व्यवसायीलाई खाद्य स्वच्छताको मापदण्ड कडाइका साथ पालना गर्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न तथा उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्। यस्ता कमजोरी पुनः दोहोरिए कडा कानुनी कारबाही गरिने चेतावनी पनि उनले दिए।

जिल्ला अस्पताल आसपास बिरामी, कुरुवा तथा सर्वसाधारणको आवतजावत बढी हुने भएकाले सो क्षेत्रका होटल तथा खानपान व्यवसायमा स्वच्छ र गुणस्तरीय सेवा सुनिश्चित गर्न यस्ता अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *