विदेशी सम्बन्धनका कलेजमा अब कडा मापदण्ड, मन्त्रिपरिषद्बाट नयाँ नियमावली स्वीकृत

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन तथा नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ।

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो। नियमावली लागू भएसँगै नेपालमा विदेशी सम्बन्धनमा सञ्चालित कलेजहरूले थप कडा शैक्षिक तथा प्रशासनिक मापदण्ड पूरा गर्नुपर्नेछ।

सरकारले उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यका साथ नयाँ व्यवस्था लागू गरेको जनाएको छ।

नियमावलीअनुसार अब सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्नेछ। यसअघि प्रस्तावित व्यवस्थाअनुसार सम्बन्धित विश्वविद्यालय विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय र्‍याङ्किङमा निरन्तर समावेश भएको र कम्तीमा एकपटक उत्कृष्ट १,००० भित्र परेको हुनुपर्ने प्रावधान पनि समावेश गरिएको छ।

त्यसैगरी, विदेशी सम्बन्धनमा सञ्चालन हुने कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (QAA) प्रक्रिया पूरा गरेको हुनुपर्नेछ। साथै, कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता तथा उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा मात्रै विद्यार्थी भर्ना कोटा निर्धारण गरिने व्यवस्था गरिएको छ।

सरकारले नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजमा समेत लागू गर्ने निर्णय गरेको छ। तोकिएका मापदण्ड पूरा गर्न नसक्ने कलेजलाई सुधारका लागि निश्चित समय दिइनेछ।

यदि तोकिएको अवधिभित्र पनि मापदण्ड पूरा गर्न नसके सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही अघि बढाउने व्यवस्था नियमावलीमा गरिएको छ।

सरकारको यो कदमले विदेशी सम्बन्धनमा सञ्चालन भइरहेका शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धि, विद्यार्थीको हित संरक्षण तथा नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *