घुम्न मात्र होइन, तरकारी किन्न पनि पुग्छन् पर्यटक भेडेटार
सुनसरी । साँझ पर्न थालेको छ। भेडेटार चोकमा सवारी साधनहरूको लामो लाइन देखिन्छ। दिनभरको घुमफिर सकेर घर फर्किने तयारीमा रहेका पर्यटकहरू होटलबाट चेकआउट गरिरहेका छन्। तर उनीहरूको यात्रा यत्तिमै सकिँदैन।
गाडी चढ्नुअघि धेरैजसो पर्यटक सडकछेउका तरकारी पसलमा पुग्छन्। कसैले रायोको साग किनिरहेका छन्, कसैले अकबरे खुर्सानी छानेर झोलामा हालिरहेका छन्। किबी, आलु, सिमी, बोडी र अन्य ताजा कृषि उत्पादनले भरिएका झोलाहरू गाडीको डिक्कीमा सजिसकेका हुन्छन्।
पहिलो दृष्टिमा यो सामान्य व्यापारजस्तो लाग्न सक्छ। तर यसले भेडेटारको बदलिँदो आर्थिक र सामाजिक स्वरूपको स्पष्ट चित्र प्रस्तुत गर्छ। पछिल्ला वर्षहरूमा भेडेटार केवल चिसो मौसमको पर्यटकीय गन्तव्यमा सीमित छैन, यो स्थानीय कृषि उत्पादनको महत्वपूर्ण बजारका रूपमा समेत स्थापित हुँदै गएको छ।
तराईका जिल्लामा गर्मी बढ्नासाथ भेडेटारको चहलपहल बढ्न थाल्छ। विराटनगर, इटहरी, धरान, दमक, इनरुवा, झापा लगायतका क्षेत्रबाट दैनिक हजारौँ पर्यटक शीतल हावा र प्राकृतिक सौन्दर्यको खोजीमा यहाँ पुग्ने गर्छन्। समुद्री सतहबाट करिब एक हजार चार सय ३० मिटर उचाइमा रहेको भेडेटारको मौसम उनीहरूका लागि गर्मीबाट राहत दिने प्रमुख आकर्षण बनेको छ।
तर अहिले भेडेटारको आकर्षण केवल मौसम र दृश्यमा सीमित छैन। यहाँको अर्को विशेषता बनेको छ स्थानीय किसानले उत्पादन गरेका ताजा तथा अर्ग्यानिक कृषि उपज।
भेडेटार चोकमा विगत १६ वर्षदेखि तरकारी तथा फलफूल व्यापार गर्दै आएका दिपेश मगरका अनुसार गर्मीयाम सुरु भएसँगै व्यापार उल्लेखनीय रूपमा बढ्ने गरेको छ। धनकुटाको राजारानी, नाम्जे, थुम्की, मूलघाट, डाँडाबजार तथा भोजपुरका विभिन्न गाउँबाट ल्याइएका ताजा उत्पादन दिनभर पर्यटकले खरिद गर्ने गर्छन्। पहिले मानिसहरू घुम्न आउँथे र फर्किन्थे,” मगर भन्छन्, “अहिले अधिकांश पर्यटक फर्किँदा पहाडी तरकारी र फलफूल पनि लिएर जान्छन्। स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढेको छ।
स्थानीय किसान बुद्ध राईका अनुसार पहाडी भूगोल, माटो र मौसमका कारण यहाँ उत्पादन हुने तरकारी तथा फलफूलको स्वाद फरक हुने गर्छ। “मूल्य केही बढी भए पनि गुणस्तरका कारण ग्राहकले रुचाउने गरेका छन्,” उनले भने। पर्यटकको बढ्दो आगमनसँगै स्थानीय कृषकको जीवनशैलीमा पनि परिवर्तन आएको छ। केही वर्षअघिसम्म उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने किसान अहिले आफ्नै क्षेत्रमा ग्राहक पाउन थालेका छन्। माग बढेसँगै धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् भने उत्पादनको दायरा पनि विस्तार हुँदै गएको छ।
पर्यटन र कृषिबीचको यही सम्बन्धले भेडेटारलाई अन्य पर्यटकीय गन्तव्यभन्दा फरक पहिचान दिएको छ। यहाँ आउने पर्यटकले केवल प्राकृतिक सौन्दर्यको आनन्द मात्र लिँदैनन्, उनीहरूले स्थानीय उत्पादन खरिद गरेर प्रत्यक्ष रूपमा ग्रामीण अर्थतन्त्रलाई पनि बलियो बनाइरहेका छन्।
विराटनगरबाट साथीहरूसँग घुम्न आएकी सरिता शर्मा भन्छिन्, “भेडेटार आउँदा मौसमको मज्जा त पाइन्छ नै, फर्किँदा ताजा तरकारी र फलफूल पनि लैजान पाइन्छ। अहिले त तरकारी नकिनी फर्किएजस्तो नै लाग्दैन।” होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठका अनुसार सामान्य दिनमा दैनिक ३० देखि ४० हजार तथा सार्वजनिक बिदा र सप्ताहान्तमा ६० हजारसम्म पर्यटक भेडेटार पुग्ने गरेका छन्। उनीहरूको आगमनले होटल, रेष्टुराँ, चिया पसल, कृषि उत्पादन विक्रेता, ढुवानी व्यवसायी र हस्तकला व्यवसायीसम्मको आयआर्जनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।
भेडेटार आसपासका पाथीभरा मन्दिर, स्काइ वाक, शङ्खेश्वर महादेव मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङडाँडा, चार्ल्स प्वाइन्ट, गुम्बा तथा ध्वजेडाँडाजस्ता पर्यटकीय स्थलले समेत आगन्तुकलाई आकर्षित गरिरहेका छन्। यी गन्तव्यसम्म पुग्ने क्रममा पर्यटक स्थानीय गाउँ र उत्पादनसँग परिचित हुने अवसर पाउँछन्।
विशेषज्ञहरूका अनुसार पर्यटन र स्थानीय कृषि उत्पादनलाई एकसाथ जोड्न सकिए ग्रामीण विकासको दिगो मोडेल निर्माण गर्न सकिन्छ। भेडेटारमा यही सम्भावना विस्तार हुँदै गएको देखिन्छ। यहाँ किसानले बजार पाएका छन् भने पर्यटकले गुणस्तरीय स्थानीय उत्पादन। यही सहकार्यले भेडेटारको अर्थतन्त्रलाई नयाँ उचाइतर्फ अघि बढाइरहेको छ।
