भारतीय अवरोधले नेपाली चिया निर्यात ठप्प, महासंघद्वारा कूटनीतिक पहलको माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भारतीय पक्षबाट नेपाली चिया निर्यातमा सिर्जना गरिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले समस्या समाधानका लागि नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ।

महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा गैर–भन्सार अवरोध खडा गर्दा झापा, इलामलगायत जिल्लामा उत्पादित ठूलो परिमाणको नेपाली चिया सीमाक्षेत्रमै रोकिएको उल्लेख गरिएको छ।

निर्यात अवरुद्ध भएपछि चिया उद्योगहरूमा तयारी चियाको मौज्दात बढ्दै गएको, नगद प्रवाहमा गम्भीर समस्या देखिएको तथा उद्योग सञ्चालनमै संकट उत्पन्न भएको महासंघले जनाएको छ। निर्यात ठप्प भएपछि अधिकांश चिया उद्योग विगत तीन दिनदेखि अनिश्चितकालीन रूपमा बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।

महासंघका अनुसार नेपालको करिब १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक २ करोड ७४ लाख केजी चिया उत्पादन हुने गर्दछ। उत्पादित चियामध्ये करिब २ करोड ५६ लाख केजी चिया भारततर्फ निर्यात हुने गरेको छ। यस उद्योगमा २० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्।

मुख्य उत्पादन सिजनकै समयमा निर्यात रोकिँदा हजारौं किसान, श्रमिक तथा उद्यमी प्रत्यक्ष प्रभावित भएका छन्। उद्योग बन्द हुँदा श्रमिकको रोजगारी संकटमा परेको र किसानको उत्पादन बजारमा पुग्न नसक्दा आर्थिक क्षति बढ्दै गएको महासंघले जनाएको छ।

विगतमा यस्ता समस्या आपसी छलफल तथा कूटनीतिक पहलमार्फत समाधान हुँदै आए पनि यसपटक लामो समयसम्म निर्यात अवरुद्ध हुनु चिन्ताजनक रहेको महासंघको भनाइ छ। कोशी प्रदेश महासंघले केन्द्रीय नेपाल उद्योग वाणिज्य महासंघमार्फत पनि सम्बन्धित निकायहरूमा आवश्यक पहलका लागि अनुरोध गरिसकेको जनाएको छ।

महासंघले नेपाली चिया उद्योग, किसान र श्रमिकहरूको हित संरक्षणमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्यातको वातावरण यथाशीघ्र सहज बनाउन सरकारसँग प्रभावकारी पहल गर्न आग्रह गरेको छ।

2083-03-02-Chiya-Nikasa-Abarodh-Sambandhi

Leave a Reply

Your email address will not be published. Required fields are marked *