सुन्तलेको दशकौँ पुरानो खानेपानी समस्या अन्त्य हुने आशा, लिफ्ट खानेपानी आयोजना सुरु

भोजपुर । भोजपुरको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि रहँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ। बस्तीभन्दा करिब ४०० मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्‍याउने लक्ष्यसहित चालु आर्थिक वर्षदेखि आयोजना कार्यान्वयनमा ल्याइएको हो।

आयोजना सम्पन्न भएपछि सुन्तले क्षेत्रको दीर्घकालीन खानेपानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ। हालसम्म आयोजनाअन्तर्गत २० घनमिटर क्षमताको एक पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने अन्य संरचना निर्माणको काम जारी रहेको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका सब–इन्जिनियर सञ्जीवकुमार यादवका अनुसार अब थप दुई वटा ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी छ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजनाको अनुमानित लागत करिब एक करोड रुपैयाँ रहेको छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रका करिब २५ घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन्।

स्थानीयका अनुसार वर्षायाममा खानेपानीको समस्या कम भए पनि हिउँदयाममा करिब पाँच महिनासम्म चरम अभाव हुने गरेको छ। टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता, असुरक्षित स्रोतमा निर्भर रहनुपर्ने अवस्था र समयको अत्यधिक खर्चले स्थानीयको दैनिकी प्रभावित हुँदै आएको थियो।

स्थानीय दशरथ राईले आयोजनाले वर्षौँदेखिको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे। “हामीले लामो समयदेखि पानीको अभाव झेल्दै आएका छौँ। आयोजना पूरा भएपछि घरमै धारा आउनेछ र दैनिक जीवन सहज बन्नेछ,” उनले भने।

अर्का स्थानीय खगेन्द्रकुमार ओझाले खानेपानी अभावका कारण स्थानीयवासी मात्र नभई यहाँ आउने पर्यटकसमेत प्रभावित हुने गरेको बताए। “विशेषगरी हिउँदयाममा पानीको समस्या निकै गम्भीर हुन्थ्यो। आयोजना सम्पन्न भएपछि यो समस्या हट्ने अपेक्षा गरेका छौँ,” उनले भने।

लिफ्ट प्रविधिमा आधारित यस आयोजनामार्फत बस्तीभन्दा तल रहेको मुहानको पानी मोटर प्रणाली प्रयोग गरी माथिल्लो क्षेत्रमा पुर्‍याइनेछ। पर्यटकीय गन्तव्यका रूपमा विकासोन्मुख सुन्तले क्षेत्रमा खानेपानी सुविधा विस्तारले स्थानीय जीवनस्तर सुधारसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले आयोजना समयमै सम्पन्न भए सुरक्षित, स्वच्छ र नियमित खानेपानी सुविधा सुनिश्चित हुनुका साथै क्षेत्रको समग्र विकासमा नयाँ गति थपिने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *