निजी विद्यालयको व्यवस्थापन सुधारमा जोड, नेशनल प्याब्सन कोशीको दुईदिने तालिम सम्पन्न
सुन्दरहरैँचा(मोरङ) : निजी विद्यालयको शैक्षिक गुणस्तरसँगै आर्थिक, प्रशासनिक तथा संस्थागत व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशले आयोजना गरेको दुईदिने ‘लेखा, कम्पनी तथा सामाजिक सुरक्षा कोषसम्बन्धी तालिम’ सम्पन्न भएको छ।
विराटनगरस्थित घिमिरे परिषद् भवन, पुष्पलाल चोकमा शुक्रबारदेखि सञ्चालन भएको तालिम शनिबार सम्पन्न भएको हो। निजी विद्यालय सञ्चालनका क्रममा देखिने आर्थिक, प्रशासनिक तथा कानुनी जटिलतालाई व्यवस्थित रूपमा सम्बोधन गर्न विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखलाई आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।
तालिम उद्घाटन समारोहमा नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले विद्यालयको शैक्षिक उन्नतिसँगै त्यसको संस्थागत र आर्थिक व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। समयअनुसार परिवर्तन भइरहेका कानुनी, वित्तीय तथा प्रशासनिक प्रावधानबारे विद्यालय नेतृत्वलाई निरन्तर अद्यावधिक गराउन यस्ता तालिम आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रमकी प्रमुख अतिथि सामाजिक विकास मन्त्री गीता तिम्सिनाले नेपालको शिक्षा विकासमा निजी विद्यालयले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै संस्थागत पारदर्शिता, सुशासन र कानुनी दायित्वलाई प्राथमिकतामा राख्न आग्रह गरिन्। विद्यालय सञ्चालनमा राज्य र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षाका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने उनले बताइन्।
नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकालले निजी विद्यालयको नेतृत्व तहमा रहेका व्यक्तिहरू बदलिँदो कानुनी तथा प्रशासनिक व्यवस्थासँगै निरन्तर अपडेट हुनुपर्ने बताए। उनले व्यवस्थापनका व्यावहारिक पक्षबारे हुने यस्ता प्रशिक्षणले विद्यालय सञ्चालनमा देखिने चुनौती समाधान गर्न सहयोग पुग्ने धारणा राखे।
तालिमका क्रममा नेशनल प्याब्सन कोशी प्रदेशका सचिव सुरेन्द्र चौधरी, सुनसरी जिल्ला संयोजक खगेन्द्र केसी, जिल्ला सचिव भनिरुद्र चौधरी र जिल्ला सदस्य प्रमोद यादवलाई सम्मान गरिएको थियो। साथै, नेशनल प्याब्सनका गतिविधि तथा शैक्षिक क्षेत्रका विषयलाई पत्रकारितामार्फत निरन्तर उजागर गर्दै योगदान पुर्याउने पत्रकारहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेशनल प्याब्सन मोरङका अध्यक्ष इन्द्रनारायण शाहलगायत प्रदेश तथा जिल्ला तहका पदाधिकारी, निजी विद्यालयका संस्थापक, प्रिन्सिपल, लेखा प्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
दुई दिनसम्म चलेको तालिममा विज्ञहरूले लेखा प्रणाली तथा वित्तीय व्यवस्थापन, कम्पनीसम्बन्धी कानुनी व्यवस्था, सामाजिक सुरक्षा कोष तथा निजी विद्यालय सञ्चालनसँग प्रत्यक्ष सरोकार राख्ने समसामयिक विषयमा प्रशिक्षण दिएका थिए।
तालिमले निजी विद्यालयको आर्थिक पारदर्शिता, संस्थागत सुशासन र प्रशासनिक क्षमता अभिवृद्धि गर्दै विद्यालय सञ्चालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको नेशनल प्याब्सन कोशी प्रदेशले जनाएको छ।
