. जुपिटरका विद्यार्थीले बनाए एक लाख लागतको तीनपाङ्ग्रे बग्गी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–३, गछियास्थित जुपिटर इंग्लिस स्कुलका विद्यार्थी समीर भुसालले करिब १ लाख रुपैयाँको लागतमा तीनपाङ्ग्रे बग्गी निर्माण गरेका छन्।
विद्यालयमा सञ्चालन हुँदै आएको रोबोटिक्स तथा एआईसम्बन्धी कक्षामा सिकेको ज्ञानलाई प्रयोगमा उतार्दै समीरले उक्त बग्गी निर्माण गरेका हुन्। बाल दिवस तथा कुशे औँसीको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा उनले निर्माण गरेको बग्गी प्रदर्शन गरिएको थियो।
विद्यार्थीले तयार पारेको बग्गीले कार्यक्रममा सहभागी शिक्षक, अभिभावक तथा विद्यार्थीको ध्यान आकर्षित गरेको थियो। प्राविधिक तथा मेकानिकल क्षेत्रमा रुचि राख्ने समीरले आफ्नो रुचि र सीपलाई प्रयोग गर्दै बग्गी निर्माण गरेको विद्यालयले जनाएको छ।
समीरले निर्माण गरेको उक्त बग्गी यसअघि सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको शैक्षिक प्रदर्शनीमा समेत प्रदर्शन गरिएको थियो।
विद्यालयका संस्थापक तथा प्रिन्सिपल हरिशचन्द्र ढकालले विद्यार्थीलाई किताबमा सीमित नराखी प्रयोगात्मक सिकाइमा जोड दिइएको बताए।
“विद्यार्थीले सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने वातावरण विद्यालयले बनाउनुपर्छ। रोबोटिक्स, एआई तथा प्रविधिको क्षेत्रमा विद्यार्थीले देखाएको रुचिलाई हामी निरन्तर प्रोत्साहन गर्छौँ,” ढकालले भने।
करिब १ लाख रुपैयाँ लागतमा विद्यार्थीले आफ्नै सीप र सिर्जनशीलताबाट निर्माण गरेको तीनपाङ्ग्रे बग्गी विद्यालयको प्रयोगात्मक तथा प्रविधिमैत्री शिक्षाको उदाहरण बनेको छ।
