विधिवत रुपमा उदाउँदो सूर्यलाई अर्घ्य दिदैं समापन

विधिवत रुपमा उदाउँदो सूर्यलाई अर्घ्य दिदैं समापन

आज शुक्रबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ ।
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा १२ को किस्ती खोलाको तटमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । यस अघि बिहिबार साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो ।
चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ । सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्व मनाइन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन किस्ती खोलामा हिजो दिउँसोदेखि नै पूजा सामग्रीसहित श्रद्धालु तथा ब्रतालु पूजा आराधना गरि बसेका थिए ।
सुन्दरहरैंचा नगरपालिका छठ सेवा समितिले किस्ती खोलामा बिगत २०५२ सालदेखि छठ पुजा गर्दै आएको छ। वडा -१० मुख्य राजमार्गको उत्तरपट्टी अव्यवस्थित रुपमा छठ पुजा सेवा समितिले घाट निर्माण गरि पुजा गर्दै आएकोमा गत वर्ष देखि वडा -१२ मुख्य राजमार्गदेखि दक्षिण सर्दै आएको छ। स्थानीय सरकारले स्थायी रुपमा घाटलाई ब्यबस्थित गर्न नसक्दा समस्या भएको छठ सेवा समितिमा सहयोगी भुमिका निर्वाह गरेका स्थानीय घनश्याम शर्माले बताए।

सो अवसरमा सुन्दरहरैचा नगरपालिकामा छठ पर्वमा विवभिन्न स्थानमा सांस्कृति कार्यक्रमहरु पनि आयोजन हुने गर्दछ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेको नगर प्रमुख केदार प्रसाद गुरागाईंले बताएका छन । घाट ब्यबस्थापनमा कठिनाई भएको भन्दै कतिपय नदी , खोलामा बाढीले तटीय क्षेत्र कटान हुने हुँदा स्थायीरुपमा ब्यबस्थित गर्न नसकेको उल्लेख गरेका छन।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुने गर्दछ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोली पल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् ।
ग्रामीण भेगका कतिपय इनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् । र, बिहान पख सूर्य उदाउनु केहि बेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ दिने गर्दछन् ।

उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याईदिने प्रचलन रहेको सुन्दरहरैंचा छठ सेवा समितिका अध्यक्ष बिमला शर्माले बताएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *