सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने मस्यौदाविरुद्ध सुन्दरहरैंचाका महिलाहरूको विरोध कार्यक्रम
सुन्दरहरैंचा, मोरङ — सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने तयारी गरेको मस्यौदाविरुद्ध सुन्दरहरैंचाका महिलाहरूले जोरदार विरोध जनाएका छन्। महिलाहरूले मंगलबार एक विरोध ¥यालीसहितको प्रदर्शन गर्दै उक्त मस्यौदालाई महिलामाथिको अन्याय र पछाडि फर्काउने कदमको रूपमा टिप्पणी गरे।
विरोध कार्यक्रममा सहभागी महिलाहरूले हातमा प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो — “बहुविवाह होइन, समानता चाहिन्छ!”, “महिलाको अधिकार कुण्ठित नगर!” र “हाम्रो आवाज सुन, मस्यौदा फिर्ता गर!”।
कार्यक्रममा बोल्दै स्थानीय महिला अधिकारकर्मी कल्पना घिमिरेले भनिन्, “बहुविवाहजस्तो पुरातन सोचलाई कानुनी मान्यता दिन खोज्नु महिलाको अस्तित्वमाथि हमला हो। हामी यस्ता प्रस्तावको कडा विरोध गर्छौं।”
विरोध प्रदर्शनमा विभिन्न संघ–संस्था, महिला समूह, युवा पनि सहभागी भएका थिए।
