नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माको पहलमा सफल भयो दाजु–बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण, हजारौंलाई दिलायो आशाको किरण!


नेपाली कांग्रेसका चर्चित युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्माको मानवीय पहल र नेतृत्वमा काठमाडौं मेडिकल कलेजमा दाजु–बहिनीबीच निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।

मोरङको बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गर्दै जीवनदान दिएका छन्। विगत सात वर्षदेखि ज्यानको लडाइँ लडिरहेकी रक्षाको पुनर्जन्मसँगै हजारौं पीडितका आँखामा आशाको ज्योति पलाएको छ।

उक्त जटिल सर्जरी डा. प्रविन विक्रम थापा, डा. रोशन घिमिरे, डा. सागर पौडेल र डा. सुजता निरौलासहितको दक्ष चिकित्सक टोलीले सम्पन्न गरेको हो। यो कलेजो प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा दोस्रो पटक सफल भएको ऐतिहासिक उपलब्धि हो।

रक्षाका बुबा उपचारपछिको खुसीमा अवाक बने। भावुक हुँदै उनले भने, “मेरो लागि डा. सुनिल शर्मा भगवान झैँ बनिरहनुभयो। उहाँले निःशुल्क उपचारको व्यवस्था नगर्नुभएको भए आज मेरी छोरी हामीसँग हुन्न थिइन्।”

उक्त सेवा काठमाडौं मेडिकल कलेजमार्फत सम्भव भएको हो, जुन डा. शर्माकै नेतृत्वमा सञ्चालित संस्था हो। खास कुरा के छ भने डा. शर्मा प्रतिनिधिसभाका एक मात्र तलब–भत्ता नलिने सांसद हुन्। देशका कुनाकन्दरासम्म पुगेर गरिब तथा असहायको सेवा गर्ने डा. शर्माको यो मानवीय धर्मले ‘राजनीतिमा पनि आशाको उज्यालो’ देखाएको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन सञ्चालनमा आएको छ। पार्टी वा पहिचान नभई नेपाली नागरिकका रूपमा सबैलाई समान सेवा दिने उनको अडानले उनलाई आम नागरिकको नेता बनाएको छ।

भर्खरै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने सातवटा फरक–फरक स्थानमा आफ्नै निजी पहलमा एम्बुलेन्स व्यवस्था गरिसकेका छन्।

डा. शर्माका यस्ता कार्यहरूले ‘नेता भनेको कुर्सीको होइन, सेवा र समर्पणको नाम हो’ भन्ने भावनालाई पुनः जगाइदिएको छ।

आज रक्षा बिष्ट नयाँ जीवनका साथ मुस्कुराइरहेकी छिन् – त्यो मुस्कानमा छ नेपाली जनताको विश्वास, आशा, र डा. सुनिल शर्माजस्ता संवेदनशील नेताप्रतिको भरोसा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *