नेशनल लघुवित्त संस्था लिमिटेडद्वारा मृतक सदस्यको परिवारलाई राहत रकम वितरण, पीडामा आशाको उज्यालो
एलएन गच्छदार /सुन्दरहरैंचा
आर्थिक आत्मनिर्भरताको सपना बोकी मासु पसल सञ्चालनका लागि नेशनल लघुवित्त संस्था लिमिटेडको विराटचौक शाखाबाट ५ लाख रुपैयाँ ऋण लिएर अघि बढेकी ५६ वर्षीया पूर्णिकुमारी दबदार थारु अब यस संसारमा छैनन्। उनको असामयिक निधनले परिवारमा गहिरो शोक छाएको छ। तर जीवनका कठिन घडीमा पनि साथ दिने संस्थाको सहारा उनले छाडेर गएको परिवारले पाएका छन्।
मृतक थारुकी श्रीमान् ५७ वर्षीय फगुवा माझी थारुको आँखामा राहत स्वरूप प्राप्त ६ लाख ५० हजार रुपैयाँको चेक थमिँदा आँसु झरिरह्यो— त्यो आँसु पीडाको मात्र थिएन, त्यो आँसु आशाको पनि थियो। उनले भने, “श्रीमती बिना जीवन कति कठिन हुन्छ भन्ने बुझ्दैछु, तर यस संस्थाबाट पाएको सहयोगले मलाई अझै बाँकी जीवनको संघर्ष गर्न ऊर्जा दिएको छ।”
लघुवित्त संस्थाबाट मृत्युपछि प्राप्त रकममा काजक्रियाका लागि १ लाख ५० हजारको अतिरिक्त सुविधा समेत समावेश छ। यस्तो कठिन परिस्थितिमा आर्थिक मात्रै होइन, भावनात्मक सम्बलसमेत मिलेको महसुस भएको फगुवा माझी बताउँछन्।
शाखा प्रमुख शर्मिला विश्वकर्मा भन्छिन् -“हामी केवल ऋण दिने संस्था होइनौं। जीवनका दुःखका पलमा पनि साथ दिने हाम्रो दायित्व हो।”
अनुगमन अधिकृत खगेन्द्र भट्टराईका अनुसार, “लघुवित्त संस्था नाफामुखी मात्र होइन, सामाजिक उत्तरदायित्वप्रति पनि प्रतिबद्ध संस्था हो। यस्तो सहयोगले सदस्यको परिवारलाई नयाँ सुरुवात गर्न प्रेरणा मिल्छ।”
सो वडाका वडा अध्यक्ष बिशनलाल चौधरीले संस्थाको योगदानप्रति आभार प्रकट गर्दै भने –
“सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण बनेको छ यो सहयोग। यो नजीर हो, अन्य संस्थाले पनि सिक्न सक्ने।”
केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा रहेको नेशनल लघुवित्त संस्था लिमिटेड हाल देशभर १८५ शाखामार्फत सेवा दिइरहेको छ। हालसम्म संस्थाका २ लाख ४७ हजार ग्राहक छन्, जसमा १ लाख १९ हजार ऋणी छन्। ६ अर्ब २५ करोड रुपैयाँ बचत संकलन तथा २५ अर्ब रुपैयाँभन्दा बढीको ऋण लगानी भइरहेको छ। ८६० कर्मचारीको समर्पित टोलिले समुदायमा वित्तीय सशक्तिकरणको मात्र होइन, मानवीय संवेदना बोकेको सेवा पुर्याइरहेका छन्।
श्रीमतीको असमय मृत्युले भत्किएको जीवनमा जब संस्थाले साथ दियो, त्यही साथ पीडाको बेलामा आशाको उज्यालो बन्न पुग्यो। फगुवा माझीको आँखाबाट बग्ने आँसुमा देखिन्थ्यो विछोडको पीडा पनि, र संस्थाबाट पाएको सहारामा लुकेको एउटा सानो ‘धन्यवाद’ पनि।
यसरी नेशनल लघुवित्त संस्था लिमिटेडले “मात्र ऋण होइन, सहानुभूतिको हात” पनि दिन सकिन्छ भन्ने उदाहरण पेश गरेको छ।
