इटहरीको शिक्षा सुधारमा जोड, सीपमूलक र रोजगारमुखी शिक्षाको माग

इटहरी । इटहरीको शैक्षिक क्षेत्रलाई समयअनुकूल, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन व्यापक सुधार आवश्यक रहेको निष्कर्षसहित सरोकारवालाहरूले सीपमूलक, रोजगारमुखी तथा नवप्रवर्तनमुखी शिक्षा प्रणाली विकास गर्न जोड दिएका छन्।

एनबीके कलेज इटहरीद्वारा आयोजित ‘भोलिको इटहरीमा शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नीतिगत सुधार, पाठ्यक्रम परिमार्जन, प्राविधिक शिक्षा विस्तार, करिअर मार्गदर्शन, शिक्षक सशक्तीकरण, नैतिक शिक्षा तथा अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा एमफिल स्कलर सूर्य चौलागाईंले शिक्षण पद्धति र पाठ्यक्रम सुधारसँगै शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताए। जनता माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले अनुसन्धानमा आधारित शिक्षा सुधारमार्फत व्यावहारिक समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए।

शिक्षा समन्वय इकाई सुनसरीका प्रमुख देवेन्द्र मल्लले नीतिगत स्पष्टता, शिक्षकको सम्मान तथा गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्ने बताए। सुषमा कलेजका प्राचार्य बोधराज नेपालले ज्ञानसँगै सीप र अनुभवमा आधारित शिक्षाले मात्र विद्यार्थीलाई सक्षम बनाउने धारणा राखे।

जनसहयोग माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक योगेन्द्र निरौलाले विद्यालय तहमा करिअर गाइडेन्स र व्यवहारिक शिक्षाको अभाव रहेको उल्लेख गरे। प्याब्सन सुनसरीका अध्यक्ष नेल्सन ढकालले गुणस्तरीय शिक्षक तथा प्रभावकारी विद्यालय व्यवस्थापन शिक्षा सुधारका आधारस्तम्भ भएको बताए।

सीटीईभीटी कोशी प्रदेशकी निर्देशक मीना खरेलले शिक्षा सुधार नीतिगत तहबाट सुरु हुनुपर्नेमा जोड दिइन्। स्वास्थ्यकर्मी चन्द्रलाल कर्णले शिक्षा र रोजगारीबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताए।

वक्ताहरूले इटहरीलाई अनुसन्धान, नवप्रवर्तन तथा सीप विकासको केन्द्रका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए। स्किल क्याम्पसका प्रज्ज्वल पराजुलीले शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग जोड्नुपर्ने बताए भने सुबोध केसीले रोजगारमुखी शिक्षा र शिक्षकको कार्यसम्पादन मूल्याङ्कन आवश्यक रहेको धारणा राखे।

अतीत किरण नेपालले प्रारम्भिक बालशिक्षा र अनुसन्धानमूलक शिक्षामा जोड दिए। श्रम संस्कृति पार्टीकी सचिव इन्दिरा राईले कृषि तथा मानवीय मूल्यमा आधारित शिक्षा आवश्यक रहेको बताइन्। ट्विंकल चौधरीले प्राविधिक शिक्षामा गुणस्तर र पारदर्शिता कायम गर्नुपर्ने बताइन् भने फार्मासिस्ट सङ्गीना चौधरीले फार्मेसी शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्नुपर्ने धारणा राखिन्।

सामाजिक अभियन्ता राजु केसीले नैतिक शिक्षालाई शिक्षा सुधारको प्रमुख आधार बनाउनुपर्ने बताए। कार्यक्रममा सहभागीहरूले स्थानीय सरकार, शैक्षिक संस्था तथा सरोकारवालाबीच प्रभावकारी सहकार्य भए इटहरीलाई प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सकिने निष्कर्ष निकाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *