२२ सय वर्ष पुरानो सभ्यताको रहस्य बोकेको किचकबध, उत्खनन अन्तिम चरणमा

झापा । झापाको भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित ऐतिहासिक तथा पौराणिक महत्वको किचकबध क्षेत्रमा जारी नवौँ चरणको पुरातात्त्विक उत्खनन अन्तिम चरणमा पुगेको छ। पछिल्लो उत्खननबाट जमिनमुनि लुकेका प्राचीन संरचना, इँटाका भग्नावशेष तथा दुई हजार वर्षभन्दा पुरानो सभ्यताका महत्वपूर्ण प्रमाणहरू फेला परेपछि यस क्षेत्रको ऐतिहासिक महत्व थप उजागर भएको छ।

गत जेठ ६ गतेदेखि पुरातत्व विभागको टोलीले सुरु गरेको उत्खननका क्रममा विभिन्न संरचनाका अवशेष, पर्खाल, आँगन तथा वास्तुकलासम्बन्धी प्रमाण भेटिएका छन्। पुरातत्वविद्हरूका अनुसार यी अवशेषले किचकबध क्षेत्र कुनै समय विकसित बस्ती वा प्रशासनिक केन्द्र रहेको संकेत गर्छन्।

महाभारतकालीन पात्र भीमले किचकको वध गरेको स्थानका रूपमा परिचित किचकबध धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित भए पनि पछिल्ला अध्ययनहरूले यसको महत्व धार्मिक कथाभन्दा धेरै व्यापक रहेको देखाएका छन्। यहाँ फेला परेका पुरावशेषले यो क्षेत्र इसापूर्व दोस्रो शताब्दीदेखि इसाको प्रारम्भिक शताब्दीसम्मको शुङ्ग–कुषाणकालीन सभ्यतासँग सम्बन्धित रहेको पुष्टि गरेका छन्।

पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यका अनुसार यहाँबाट प्राप्त सामग्रीको कार्बन परीक्षणले स्थल करिब २२ सय वर्ष पुरानो रहेको प्रमाणित गरिसकेको छ। उनले यहाँ प्रयोग गरिएका इँटाहरूको बनावट र आकार लुम्बिनी क्षेत्रमा भेटिएका प्राचीन इँटासँग मिल्दोजुल्दो रहेको बताउँदै तत्कालीन समयमा पूर्वी नेपाल र दक्षिण एशियाका अन्य सभ्यताबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको अनुमानलाई बल पुगेको उल्लेख गरे।

किचकबधमा पहिलो पटक २०३५ सालमा उत्खनन गरिएको भए पनि नियमित रूपमा २०५८ सालदेखि मात्रै पुरातत्व विभागले अनुसन्धान अघि बढाएको हो। सीमित बजेट, जनशक्ति अभाव तथा छोटो कार्यअवधिका कारण २४ वर्षमा जम्मा नौ चरणको उत्खनन सम्पन्न भएको छ। हालसम्म यहाँबाट नौवटा दरबारनुमा संरचनाका अवशेष फेला परिसकेका छन्।

पुरातत्वविद्हरूका अनुसार हालसम्म उत्खनन गरिएको क्षेत्र सम्पूर्ण स्थलको सानो भाग मात्र भएकाले जमिनमुनि अझै महत्वपूर्ण संरचना लुकेर रहेको सम्भावना छ। पर्याप्त बजेट र दीर्घकालीन योजना उपलब्ध भए थप ऐतिहासिक तथ्यहरू उजागर हुन सक्ने विश्वास गरिएको छ।

यद्यपि, उत्खनन गरिएका संरचनाको संरक्षण चुनौतीपूर्ण बनेको छ। वर्षायाममा पानी जम्ने, झारपात फैलिने तथा संरचनामा क्षति पुग्ने जोखिम रहेको छ भने कतिपय संरचनालाई अस्थायी रूपमा छोपेर सुरक्षित राखिएको छ। पुरातत्वविद्हरूले संरक्षण, अनुसन्धान र प्रचारप्रसारमा पर्याप्त ध्यान नदिइए महत्वपूर्ण सम्पदा जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।

विशेषज्ञहरूका अनुसार किचकबधलाई वैज्ञानिक अध्ययन, व्यवस्थित संरक्षण र प्रभावकारी प्रवर्द्धन गर्न सके अन्तर्राष्ट्रिय स्तरमा परिचित पुरातात्त्विक गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनसँग जोडेर विकास गर्न सके यसले स्थानीय तथा प्रदेशस्तरीय अर्थतन्त्रलाई समेत नयाँ गति दिन सक्ने अपेक्षा गरिएको छ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले किचकबधलाई संग्रहालय, अनुसन्धान केन्द्र तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए। उनका अनुसार प्रदेश र संघीय सरकारसँग समन्वय गरी यस क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरिनेछ।

मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले किचकबध पूर्वी नेपालको प्राचीन इतिहास बुझ्ने महत्वपूर्ण ‘खुला पुस्तक’ भएको उल्लेख गर्दै समयमै संरक्षण र अनुसन्धानमा ध्यान नदिइए बहुमूल्य सम्पदा क्षयीकरणको जोखिममा पर्ने बताए।

उनले किचकबधको ऐतिहासिक महत्व अब प्रमाणित भइसकेको भन्दै यसको संरक्षण र विकासमा राज्यले गम्भीर पहल गर्नुपर्ने आवश्यकता औँल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *