रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनस्थित पूर्व–पश्चिम राजमार्गमा सडक किनारमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आइतबार राति करिब ११ः१५ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार टायर पञ्चर भएपछि सडकको छेउमा रोकेर राखिएको १ ख ५१२८ नम्बरको टिपरमा झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका विनोदलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

मोटरसाइकलमा सवार अन्य दुई जना पनि घाइते भएका छन्। इनरुवा–८ का २० वर्षीय आर्यन चौधरीको विराट नर्सिङ होममा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यस्तै, इनरुवा–३ का २८ वर्षीय आशिष चौधरी सामान्य घाइते भएकाले उपचारपछि घर फर्किएका छन्। दुर्घटनापछि प्रहरीले टिपर र चालक कोशी गाउँपालिका–३ का ४८ वर्षीय लाल मोहमद मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने देखिएको छ। साथै, ट्राफिक नियमविपरीत मोटरसाइकलमा तीन जना सवार रहेको तथ्यसमेत खुलेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *