संघीय अनुदान कटौतीले उदयपुरका स्थानीय तहमा विकास बजेट संकट

उदयपुर । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले स्थानीय तहमा पठाउने अनुदान रकम घटाएपछि उदयपुरका अधिकांश पालिकाको विकास योजना प्रभावित हुने देखिएको छ। आठ स्थानीय तहमध्ये पाँच पालिकाको बजेट कटौती भएको छ भने सबैभन्दा ठूलो असर त्रियुगा नगरपालिकामा परेको छ।

संघीय वित्तीय हस्तान्तरण विवरणअनुसार त्रियुगाको बजेट चालु आर्थिक वर्षको तुलनामा २२ करोड ९० लाख रुपैयाँले घटेर ८५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ। पछिल्ला दुई वर्षमा मात्रै नगरपालिकाले पाउने संघीय अनुदान ६१ करोड २१ लाख रुपैयाँले घटेको देखिएको छ।

जिल्लाका आठ पालिकाले आगामी आर्थिक वर्षमा कुल ३ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ संघीय अनुदान पाउने भएका छन्, जुन चालु आर्थिक वर्षभन्दा २८ करोड २८ लाख रुपैयाँ कम हो। कटारी, चौदण्डीगढी र लिम्चुङबुङको बजेट बढ्दा त्रियुगासहित पाँच पालिकाको बजेट घटेको छ।

स्थानीय जनप्रतिनिधिले अनुदान कटौतीका कारण पूर्वाधार निर्माण, विकास आयोजना तथा आधारभूत सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *