सुन्दरहरैचामा दिदीबहिनी मृत्यु प्रकरणः चार दिन बित्दा पनि भेटिइनन् अस्मिता

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ जना नाबालिका मृत फेला परेको घटना थप रहस्यमय बन्दै गएको छ । आमाले सँगै लिएर गएको भनिएका २ नाबालिका छोरी गत आइतबार दिउँसो मृत फेला परेका थिए । तर, आमाको अवस्था अहिलेसम्म अज्ञात छ । स्थानीयको सहयोगमा प्रहरीले खोजी जारी राखेको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका नाबालिकाहरु छोरीहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केराघारीभित्र मृत फेला परेका थिए । नाबालिका छोरीलाई पत्नी अस्मिता न्यौपानेले सँगै लिएर गएको अर्जुनले बताएका छन् ।

पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै थिए । प्रहरीका अनुसार अर्जुनको इटहरी–भोजपुर चल्ने ट्याक्सी छ । ट्याक्सी लिएर भोजपुर गएका उनी ३ दिनपछि फर्किएका थिए ।

भोजपुरबाट फर्किएपछि निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुन र पत्नी अस्मिताबीच विवाद भएको र त्यसपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता शनिबार साँझदेखि हिँडेको जानकारी प्रहरीले पाएको छ । नाबालिकाहरु भोलिपल्ट मृत फेला परेका हुन् ।

अर्जुनले भोजपुरबाट आउँदा माछा पनि लिएर आएका थिए । ‘पत्नीसँग विवाद भएपछि माथि चढेर म माछा पकाउन थालें । पकाएर खान बोलाउँदा उनी (अस्मिता) थिइनन् । छोरीहरु पनि लिएर गइछन्,’ उनको भनाइ उद्रित गर्दै प्रहरीले भन्यो, ‘त्यसपछि फोन गर्दा उठेन । रातभर खोजी गरियो । तर, पत्ता लगाउन सकिएन ।’

प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । अस्मिताको म्यासेज पठाएको भनिएको मोबाइल नाबालिकाको शवनजिकै फेला परेको थियो । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर प्रहरीले यकिन गरिसकेको छैन ।

सीडीआर (कल डिटेल्स रेकर्ड) परीक्षणका लागि पठाइएको र रिपोर्ट आइसकेपछि प्रष्ट हुने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी उनले दिए । नाबालिका छोरीहरुसँगै आमाको मोबाइल फेला परेपनि अस्मिताको अवस्था पत्ता लाग्न सकेको छैन ।

उनी कहाँ गइन् ? भनेर सर्वत्र चासो बढेको छ । यसअघि पनि विवाद हुँदा नानीहरु लिएर निस्किने र पछि घर फर्किने गरेको अर्जुनले प्रहरीलाई बताएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो ।

घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने प्रहरीको भनाइ छ । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । शवको प्रकृति हेर्दा नाबालिकाहरुलाई विष खुवाएजस्तो देखिने प्रहरीको भनाइ छ । यद्यपि, पोस्टमार्टम रिपोर्ट आइनसकेका कारण पुष्टि भइसकेको छैन ।

एसपी कार्कीका अनुसार घटना भएयता घटनास्थल आसपास र जंगलमा नियमित रूपमा खोजतलास भइरहेको छ । ‘बेपत्ता भएकी महिलाको खोजीका लागि स्थानीय बासिन्दा र जनप्रतिनिधिले प्रहरीलाई ठूलो साथ दिनु भएको छ । दैनिक सयभन्दा बढी स्थानीयलाई साथमा लिएर प्रहरीले घटनास्थलनजिकको घना जंगलमा खोजी गरिरहेको छ,’ उनले भने, ‘हराइरहेकी महिला कता गइन् र कुन अवस्थामा छन् भनेर कुनै संकेत प्राप्त भएको छैन । मृत फेला परेका नाबालिकाकी आमा अझैसम्म हराइरहेकी छन् ।’

एसपी कार्कीले २ नाबालिका मृत फेला परेको केराघारी र नजिकै रहेको जंगलमा दैनिक खोजी भइरहेको बताए । उनका अनुसार जानसक्ने सम्भावित स्थान र आफन्त भएतिर सोधीखोजी गर्दा पनि केही पत्ता लगाउन सकिएको छैन ।

प्रेम विवाहपछि सधैं विवाद

प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको थियो । पछिल्लो समय उनीहरुबीच पारिवारिक झगडा भइरहन्थ्यो । शुक्रबार बनाउँदै गरेको घरमा पानी लगाएको विषयमा विवाद भएको थियो ।

वडाध्यक्ष भुवनसिंह मगरका अनुसार सम्पर्कविहीन बनेकी अस्मिताको अवस्था अहिलेसम्म अज्ञात छ । ‘घटनापछि सबै चिन्तित छन् । खोजीका लागि जनप्रतिनिधि र स्थानीयले प्रहरीलाई साथ दिइरहेका छन्,’ उनले भने, ‘प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घना जंगलमा नियमित खोजी पनि भइरहेको छ ।’ मगरले हराएको ४ दिनसम्म अवस्था पत्ता नलागेको र अनुसन्धानको विकल्प नभएको बताए ।

‘वरपरका कसैले पनि देखेको कुरा गरेका छैनन् । सबै मिलेर काम गर्दा पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन,’ उनी भन्छन्, ‘अहिलेसम्म ती महिला जीवितै छन् कि मृत्यु भइसक्योभन्ने थाहा भएन । घटनालाई लिएर प्रहरी प्रशासन र स्थानीयले धेरै चासो दिएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *