गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा. सुनील शर्मा केएमसीमा एक हजार विपन्नको निःशुल्क शल्यक्रिया

 

काठमाडौं — गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता, समाजसेवी तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले सम्हालेका छन्। फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको सभापतित्वमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन्।

नेतृत्व हस्तान्तरणपछि शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो राजनीतिक र व्यावसायिक जीवनको गहिरो सम्बन्ध रहेको स्मरण गरे। कार्यक्रममा उनले राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सुजाता कोइरालालाई भारत हुँदै अमेरिका र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएर नेपालको प्रजातन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने अभियानमा आफू जोडिएको विषय सुनाए। त्यतिबेला नजरबन्दमा रहेका गिरिजाप्रसाद कोइरालालाई कसरी बाहिर निकाल्ने भन्ने विषयमा समेत अन्तर्राष्ट्रिय तहमा पहल भएको उनले स्मरण गरे।

‘गिरिजाप्रसाद कोइराला नभएको भए अहिलेको सुनील शर्माको मेडिकल विरासत हुने थिएन,’ शर्माले भने, ‘गिरिजाबाबुले निःस्वार्थ रूपमा कुनै कुरा नमागी नोबेल मेडिकल कलेजको सम्बन्धन दिलाइदिनुभएको हो। त्यसकै आधारमा काठमाडौं मेडिकल कलेजसम्म आइपुगियो।’

शर्माले आफूलाई गिरिजाप्रसाद आफ्नो ‘अर्को बुबा’ भएको उल्लेख गरे। ‘आज बुबाको मुख हेर्ने दिन भएकाले बिहानै जैविक बुबाको हातबाट टीका लगाएर आएको हुँ। मेरा बायोलोजिकल बुबा–आमाले मलाई यहाँसम्म ल्याउनुभयो। तर, व्यावसायिक संस्थालाई कर्पोरेट हाउसका रूपमा विकास गर्न गिरिजाबाबुले दिनुभएको आशीर्वादले पनि मलाई यहाँसम्म ल्यायो,’ उनले भने, ‘सुजाता दिदीले आज मलाई यो जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ। यसरी हेर्दा म पनि गिरिजाबाबुको अंशियार भएँ। उहाँको विरासत छोरीलाई र छोरीले मलाई हस्तान्तरण गर्नुभएको छ।’

अध्यक्षको जिम्मेवारी सम्हालेपछि शर्माले फाउन्डेसनमार्फत सामाजिक सेवाका कार्यक्रम अघि बढाउने घोषणा गरे। उनले यसै वर्ष आर्थिक अभावका कारण उपचार गर्न नसक्ने देशभरका एक हजार बिरामीको मेजर अपरेसन काठमाडौं मेडिकल कलेजको दुवाकोट युनिट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क गर्ने घोषणा गरे। साथै छात्रवृत्तिका कार्यक्रम पनि अघि बढाउने उनले बताए। आफूले गिरिजाप्रसादकै हातबाट हस्ताक्षर गरेर नेपाली कांग्रेसको साधारण सदस्यता लिएको क्षणसमेत उनले स्मरण गरे।

शर्माले पार्टी र सत्तामा अन्याय बढे नयाँ पुस्ताले त्यसविरुद्ध विद्रोह गर्नुपर्ने गिरिजाप्रसादको विचारलाई आत्मसात् गर्दै कांग्रेसलाई नयाँ र उज्यालो दिशामा अघि बढाउनुपर्ने बताए। साथै उनले गिरिजाप्रसादको लोकतान्त्रिक विरासतलाई फाउन्डेसनका गतिविधिमार्फत निरन्तरता दिने प्रतिबद्धता जनाए।

फाउन्डेसनको नेतृत्व हस्तान्तरण गर्दै सुजाता कोइरालाले १६ वर्ष फाउन्डेसनको नेतृत्व गरेपछि अब आफू जिम्मेवारीबाट अलग हुन लागेको बताइन्। ‘१६ वर्ष फाउन्डेसन चलाएँ। यस अवधिमा धेरै राम्रा कार्यक्रम भए। संस्थालाई जोगाउन र अघि बढाउन सहयोग गर्ने सबै साथीभाइलाई धन्यवाद,’ उनले भनिन्।

शर्मालाई नै नेतृत्व सुम्पिनुको कारणबारे सुजाताले गिरिजाप्रसादसँग उनको निकट सम्बन्ध र शान्ति प्रक्रियामा उनले पुर्‍याएको योगदानलाई मुख्य आधारका रूपमा प्रस्तुत गरिन्। ‘उहाँ गिरिजाबाबुसँग अत्यन्तै नजिक हुनुहुन्थ्यो। शान्ति प्रक्रिया अघि बढाउन उहाँले ठूलो मद्दत गर्नुभएको थियो। त्यतिबेला पत्रकार कृष्ण सेनमार्फत सुनीलजीले प्रचण्डजीलाई भेटाउनुभएको हो,’ उनले भनिन्। राजा ज्ञानेन्द्रले सत्ता लिएपछिका आफ्ना र शर्माका अनुभव पनि उनले कार्यक्रममा सुनाएकी थिइन्। ‘सुनील शर्मालाई फाउन्डेसन हस्तान्तरण गर्दा मलाई एकदमै गौरव लागेको छ। उहाँका सामाजिक कामले पार्टीलाई पनि धेरै सहयोग पुगेको छ,’ उनले भनिन्।

कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले गिरिजाप्रसाद कोइरालालाई आफ्नो पुस्तासहित अहिले कांग्रेसको नेतृत्वमा रहेका धेरै नेताको राजनीतिक गुरुका रूपमा स्मरण गरे। २०४६ सालको पुस्ताका आफूहरू गिरिजाप्रसादकै राजनीतिक संस्कारबाट हुर्किएको उल्लेख गर्दै उनले भने, ‘हामी सबै गिरिजाप्रसादका कार्यकर्ता हौं। जीवनका महत्वपूर्ण राजनीतिक पात्रका बारेमा चर्चा गर्दा गिरिजाप्रसादकै नाम आउँछ।’

थापाले सुजाता कोइरालासँग आफ्नो राजनीतिक यात्राका दुई महत्वपूर्ण घुम्ती जोडिएको बताए। विद्यार्थी राजनीतिमा आफूलाई अघि बढाउन सुजाताले भूमिका खेलेको र पछिल्लो समय आफूलाई पार्टीको नेतृत्वमा आउन पनि भरोसा दिएको उनले स्मरण गरे। पार्टीमा पुस्तान्तरणको बहस भइरहेका बेला आफूले निर्माण गरेको फाउन्डेसनको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नु सुजाताको महत्वपूर्ण निर्णय भएको उनको भनाइ थियो।

उनले गिरिजाप्रसादको योगदान २०६२/६३ को जनआन्दोलनदेखि २०४८ सालमा प्रधानमन्त्री हुँदा सुरु गरेको आर्थिक नीतिसम्म जोडिएको बताए। संसदीय व्यवस्थामा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने र मुलुकको अर्थतन्त्र अत्यन्तै कमजोर अवस्थामा रहेको समयमा गिरिजाप्रसादले आर्थिक क्षेत्रमा महत्वपूर्ण पहल गरेको थापाले स्मरण गरे।
फाउन्डेसनको अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले गिरिजाप्रसाद कोइरालाका विभिन्न राजनीतिक आयाम र उनको अन्तर्राष्ट्रिय छविबारे चर्चा गरेका थिए। कार्यक्रममा फाउन्डेसनमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *