रोग फैलिनुअघि सूचना पुग्यो भने धेरै क्षति रोक्न सकिन्छ

सुन्दरहरैंचाका समुदायलाई रोग निगरानीबारे अभिमुखीकरण, असामान्य स्वास्थ्य घटना देखिए तत्काल खबर गर्न आग्रह

एलएन गच्छदार 

सुन्दरहरैंचा । कुनै रोग फैलिसकेपछि उपचार खोज्नुभन्दा रोगको प्रारम्भिक संकेत पहिचान गरेर समयमै सूचना दिन सक्नु नै ठूलो जनस्वास्थ्य सुरक्षा हो। यही सन्देशसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–५ र ६ मा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी छुट्टाछुट्टै एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूह, युवा क्लब तथा विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रम पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट नेपाल (PHRD Nepal) को आयोजनामा तथा नगरपालिकाको स्वास्थ्य शाखाको सहजीकरणमा सञ्चालन गरिएको हो।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग निगरानी प्रणाली, संक्रामक रोगका प्रारम्भिक लक्षण पहिचान, परीक्षण, रोग निगरानीको चक्र तथा असामान्य स्वास्थ्य घटना देखिए तत्काल सूचना प्रवाह गर्ने प्रक्रियाबारे सहभागीलाई जानकारी दिइएको थियो।

‘सानो संकेतलाई बेवास्ता नगरौँ’

समुदायमा एउटै प्रकारका लक्षण भएका धेरै व्यक्ति देखिनु, असामान्य रूपमा बिरामी पर्ने वा मृत्यु हुने घटना हुनु तथा संक्रामक रोगको शंका लाग्ने अवस्था देखिएमा त्यसलाई सामान्य ठानेर बस्न नहुनेमा कार्यक्रममा जोड दिइएको थियो।

समयमै सूचना पुग्यो भने रोगको स्रोत पहिचान, परीक्षण, उपचार तथा आवश्यक प्रतिकार्य तत्काल अघि बढाउन सकिन्छ। यसले सम्भावित प्रकोप तथा महामारीबाट हुन सक्ने मानवीय र आर्थिक क्षति न्यूनीकरणमा समेत सहयोग पुर्‍याउने सहभागी वक्ताहरूले बताएका थिए।

“सम्भावित महामारी नियन्त्रण गर्न, तत्काल मृत्यु रोक्न र दीर्घकालीन रूपमा हुन सक्ने अपाङ्गता कम गर्न समुदायको भूमिका निर्णायक हुन्छ,” कार्यक्रममा सहभागी वक्ताले बताए।

रोग निगरानी स्वास्थ्यकर्मीको मात्रै जिम्मेवारी होइन

कार्यक्रमले रोग निगरानीलाई स्वास्थ्य संस्थाको जिम्मेवारीमा मात्र सीमित नगरी घर, टोल र समुदायबाटै सुरु हुने प्रणालीका रूपमा बुझ्नुपर्ने सन्देश दिएको छ।

स्वास्थ्य संस्थामा पुग्नुअघि नै समुदायले असामान्य स्वास्थ्य अवस्था देखेर सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउन सके सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न सकिने कार्यक्रममा बताइएको थियो।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायमा देखिने असामान्य स्वास्थ्य समस्यालाई बेवास्ता नगरी समयमै स्वास्थ्य संस्थासम्म सूचना पुर्‍याउनुपर्नेमा जोड दिइएको थियो।

रोगसँगै हिंसा र सामाजिक विकृतिबारे पनि छलफल

अभिमुखीकरणमा जनस्वास्थ्यसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका यौनजन्य हिंसा, महिला हिंसा, बाल हिंसा तथा सामाजिक विकृतिका विषयमा समेत छलफल गरिएको थियो।

समुदायमा महिला तथा बालबालिकामाथि हुने हिंसा वा अन्य गलत गतिविधिबारे सम्बन्धित निकाय तथा प्रहरीलाई समयमै जानकारी गराउनुपर्नेमा जोड दिइयो। गलत सोच र व्यवहार परिवर्तनका लागि मनोपरामर्श, जनचेतना तथा समुदायस्तरीय अभियानलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।

‘समयमै खबर गर्नु नै पहिलो उपचार’

कार्यक्रममा विगतमा संक्रामक रोगका कारण बालबालिकासमेत प्रभावित भएको अवस्थालाई स्मरण गर्दै जनस्वास्थ्यसँग सम्बन्धित अनपेक्षित घटना तथा संक्रामक रोगका लक्षणको विवरण समुदायस्तरबाटै निरन्तर संकलन र सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

अभिमुखीकरणमा सहभागीलाई संक्रामक रोगका प्रारम्भिक लक्षण पहिचान गर्ने, असामान्य स्वास्थ्य घटना देखिए स्वास्थ्यकर्मीलाई खबर गर्ने, आवश्यक सतर्कता अपनाउने तथा रोग नियन्त्रणका लागि हुने प्रतिकार्यमा सहयोग गर्ने विषयमा व्यवहारिक जानकारी दिइएको थियो।

सुन्दरहरैंचा–५ की वडा महिला सदस्य इन्दिरा चापागाईंले समुदायमा रोगको प्रारम्भिक अवस्था पहिचान गरी समयमै सूचना प्रवाह गर्न सके सम्भावित महामारी तथा जनस्वास्थ्य जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताइन्।

कार्यक्रममा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट नेपाल कार्यक्रम निर्देशक सुम्निमा कार्कीले सम्बन्धित विषयमा सहजीकरण गरेकी थिइन्। सहभागीलाई अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका प्रारम्भिक लक्षणसम्बन्धी हस्तपुस्तिका समेत वितरण गरिएको थियो।

आयोजकका अनुसार कार्यक्रमपछि समुदायमा जनस्वास्थ्यसम्बन्धी जोखिमको प्रारम्भिक पहिचान, सूचना संकलन र सम्बन्धित स्वास्थ्य निकायसम्म तत्काल सूचना पुर्‍याउने संयन्त्र थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

जनचेतनाका लागि एउटा महत्वपूर्ण सन्देश

रोग देखिएपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने होइन, रोग फैलिनुअघि नै त्यसको संकेत पहिचान गरौँ।

घर–टोलमा असामान्य रूपमा धेरै मानिस बिरामी पर्न थालेका छन्, एउटै प्रकारका लक्षण देखिएका छन् वा कुनै अनपेक्षित स्वास्थ्य घटना भएको छ भने ‘यो त सामान्य होला’ भनेर चुप नबसौँ। समयमै स्वास्थ्यकर्मीलाई जानकारी गराऔँ।

एक जनाले दिएको सही सूचना समयमै सम्बन्धित निकायसम्म पुग्न सके त्यसले धेरै मानिसको ज्यान जोगाउन सक्छ।

जनस्वास्थ्य सुरक्षाको पहिलो घेरा अस्पताल होइन—समुदाय आफैँ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *