विश्वकर्मा पूजामा बाल सदनको नयाँ पहल : विज्ञान प्रयोगशालादेखि आधुनिक पुस्तकालयसम्म
एलएन गच्छदार / सुन्दरहरैंचा
सुन्दरहरैंचा — मोरङको सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकस्थित बाल सदन एकेडेमीले विश्वकर्मा पूजाको अवसर पारेर विद्यालयमा नयाँ विज्ञान प्रयोगशाला र आधुनिक पुस्तकालय सञ्चालनमा ल्याएको छ।
विद्यार्थीलाई परम्परागत कक्षाकोठाको सिकाइबाट अघि बढाउँदै प्रयोगात्मक ज्ञान, अनुसन्धान, सिर्जनशीलता र अध्ययन संस्कृतिसँग जोड्ने उद्देश्यले विद्यालयले शैक्षिक पूर्वाधार विस्तार गरेको हो।
विश्वकर्मा पूजाका अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा विज्ञान प्रयोगशाला र पुस्तकालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ। नयाँ संरचनाले विद्यार्थीलाई विज्ञानका विषयलाई प्रयोगमार्फत बुझ्ने तथा पाठ्यपुस्तकभन्दा बाहिरका ज्ञान र सामग्रीसँग परिचित हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
विद्यालयका प्रबन्ध निर्देशक सूर्य दंगालले विज्ञान शिक्षालाई प्रयोगात्मक र व्यवहारिक बनाउन विज्ञान प्रयोगशालाको महत्वपूर्ण भूमिका हुने बताए।
उनका अनुसार विद्यार्थीले पुस्तकमा पढेका वैज्ञानिक अवधारणा, सिद्धान्त र प्रक्रियालाई आफ्नै आँखाले हेरेर तथा प्रयोग गरेर सिक्न पाउने वातावरण निर्माण गर्न प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। “विज्ञान पढ्नु भनेको केवल किताबका पाठ कण्ठ गर्नु होइन, त्यसलाई प्रयोग गरेर बुझ्नु पनि हो,” दंगालले भने, “विद्यार्थीमा खोज, जिज्ञासा र अनुसन्धान गर्ने बानी विकास होस् भन्ने हाम्रो उद्देश्य हो।”
उनले विद्यालयले शैक्षिक गुणस्तरसँगै विद्यार्थीको व्यावहारिक सीप र सिर्जनशील क्षमताको विकासलाई समेत प्राथमिकतामा राखेको बताए।
त्यस्तै, विद्यालयका प्रिन्सिपल निरज ढकालले आधुनिक पुस्तकालयलाई विद्यार्थीको अध्ययन र ज्ञान विस्तारको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
उनका अनुसार पछिल्लो समय बालबालिकामा मोबाइल तथा अन्य डिजिटल उपकरणको प्रयोग बढ्दै गएको अवस्थामा उनीहरूलाई पुस्तक पढ्ने बानीतर्फ आकर्षित गर्नु विद्यालय र अभिभावक दुवैको चुनौती बनेको छ।
“हामी विद्यार्थीलाई मोबाइलबाट टाढा राख्ने मात्र होइन, मोबाइलको प्रयोगभन्दा बढी पुस्तक पढ्ने संस्कारको विकास गर्न चाहन्छौँ,” ढकालले भने, “पुस्तकालय विद्यार्थीले आफूलाई मन लागेको विषय खोजेर पढ्ने, नयाँ कुरा सिक्ने र आफ्नो ज्ञानको दायरा फराकिलो बनाउने ठाउँ बन्नुपर्छ।”
विद्यालयले पुस्तकालयमा विद्यार्थीको उमेर र रुचिअनुसार विभिन्न विधाका पुस्तकहरू उपलब्ध गराउँदै लैजाने जनाएको छ। पाठ्यपुस्तकसँगै कथा, जीवनी, विज्ञान, साहित्य, इतिहास, सामान्य ज्ञानलगायतका पुस्तक पढ्ने वातावरण निर्माण गर्ने विद्यालयको योजना छ।
विद्यालय व्यवस्थापनका अनुसार विज्ञान प्रयोगशाला र आधुनिक पुस्तकालय सञ्चालनसँगै विद्यार्थीको सिकाइलाई कक्षाकोठाभन्दा बाहिर पनि विस्तार गर्ने प्रयास गरिएको छ। प्रयोगशालाले ‘गर र सिक’ अर्थात् प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्नेछ भने पुस्तकालयले विद्यार्थीमा नियमित अध्ययन र स्वअध्ययनको संस्कार विकास गर्ने अपेक्षा गरिएको छ।
विश्वकर्मा पूजाको अवसरमा शैक्षिक पूर्वाधार थप्दै बाल सदनले प्रविधिको बढ्दो प्रयोगबीच पुस्तक, प्रयोग र अनुसन्धानलाई शिक्षाको अभिन्न हिस्सा बनाउने सन्देश दिएको छ।
विद्यालयका लागि विश्वकर्मा पूजा केवल औजार र प्रविधिको पूजा गर्ने दिनमा सीमित नभई ज्ञान, सीप र सिर्जनशीलताको सम्मान गर्ने अवसरका रूपमा समेत जोडिएको देखिन्छ। विज्ञान प्रयोगशाला र पुस्तकालयको सुरुवातले विद्यार्थीलाई ‘पढ्ने, प्रयोग गर्ने र सिक्ने’ संस्कारतर्फ अघि बढाउन सहयोग पुग्ने विद्यालयको विश्वास छ।





