व्यवस्थापन समिति विवादबीच जनता माविका प्रधानाध्यापक र लेखा प्रमुखको राजीनामा

इटहरी । इटहरीस्थित जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद जारी रहेका बेला प्रधानाध्यापक पशुपति सिग्देल र लेखा प्रमुख सुरेश खड्काले पदबाट राजीनामा दिएका छन्। दुवै पदाधिकारीको राजीनामासँगै विद्यालयभित्रको विवादले थप चर्चा पाएको छ।

विद्यालयमा पछिल्लो समय व्यवस्थापन समिति गठन प्रक्रिया, प्रशासनिक निर्णय तथा समग्र विद्यालय सञ्चालनलाई लिएर विभिन्न पक्षबीच मतभेद देखिएको थियो। यही क्रममा प्रधानाध्यापक र लेखा प्रमुखले सोमबार आफ्नो पदबाट राजीनामा बुझाएका हुन्। प्रधानाध्यापक सिग्देलले आफूहरूले स्वेच्छाले राजीनामा दिएको स्पष्ट पार्दै विद्यालयमा सहज रूपमा काम गर्ने वातावरण नबनेपछि यस्तो निर्णय लिनुपरेको बताए। उनका अनुसार यो कुनै व्यक्ति वा समूहको दबाबका कारण नभई परिस्थितिको मूल्याङ्कनपछि गरिएको निर्णय हो।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः काशीनाथ दंगाललाई चयन गर्ने निर्णयपछि अभिभावक, स्थानीय राजनीतिक दल तथा सरोकारवालाहरूले असन्तुष्टि जनाउँदै आएका थिए। अभिभावक प्रतिनिधि छनोट प्रक्रिया पूरा नगरी अस्थायी समिति गठन गरिएको आरोप लगाउँदै विभिन्न पक्षले विरोध गरेका थिए।

विवादकै क्रममा अभिभावकहरूले संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए भने विद्यालय व्यवस्थापन समितिको कार्यकक्षमा तालाबन्दीसमेत गरिएको थियो। स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलहरूले पनि निर्णय प्रक्रियामा पुनर्विचार गर्न आग्रह गरेका थिए।

विद्यालयका सूचना अधिकारी ज्योति कोइरालाका अनुसार प्रधानाध्यापक र लेखा प्रमुखले सोमबार औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। विद्यालयमा देखिएको विवाद समाधान र व्यवस्थापन समितिसम्बन्धी प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *