हातिमारा खोलाको यथार्थ खोज्न त्रियुगा नगरपालिकाद्वारा अभिलेख संकलन अभियान सुरु
उदयपुर । सार्वजनिक सम्पत्तिको संरक्षण, अभिलेखीकरण तथा सम्भावित अतिक्रमणबारे तथ्यगत अध्ययन गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले हातिमारा खोलासम्बन्धी विस्तृत अभिलेख संकलन प्रक्रिया सुरु गरेको छ।
नगरपालिकाले वडा नं. ९ र १० क्षेत्रमा पर्ने हातिमारा खोलाको ऐतिहासिक तथा कानुनी अवस्था स्पष्ट पार्न भूमि प्रशासन कार्यालय उदयपुर र नापी कार्यालय उदयपुरसँग सम्बन्धित सम्पूर्ण अभिलेख, नक्सा, जग्गा दर्ता विवरण तथा अन्य आवश्यक कागजात माग गरेको जनाएको छ।
नगर प्रमुख बसन्तकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्रमार्फत खोलाक्षेत्रको जग्गा कहिले, कसरी र कसको नाममा दर्ता भएको, त्यस प्रक्रियामा संलग्न सरकारी निकाय तथा पदाधिकारीहरूको विवरणसमेत उपलब्ध गराउन अनुरोध गरिएको छ।
नगरपालिकाका अनुसार हातिमारा खोलासम्बन्धी विषयमा विभिन्न तहमा ध्यानाकर्षण हुँदै आएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी परेकाले तथ्यमा आधारित अध्ययन आवश्यक भएको हो। सोही उद्देश्यले पुराना अभिलेख तथा कागजातहरूको खोजी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
नगर प्रमुख बस्नेतले सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको जिम्मेवारी भएकाले हातिमारा खोलाको वास्तविक अवस्था उजागर गर्न अध्ययन थालिएको बताए। प्राप्त अभिलेखका आधारमा खोलाक्षेत्रको इतिहास, स्वामित्व अवस्था तथा सम्भावित अतिक्रमणबारे विस्तृत अनुसन्धान गरिने उनले जानकारी दिए।
नगरपालिकाले दशकौँ पुराना नक्सा, अभिलेख र जग्गा दर्तासम्बन्धी कागजातहरूको अध्ययनपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाइने जनाएको छ।
स्थानीय सरकारको यो पहललाई सार्वजनिक सम्पत्तिको संरक्षण, पारदर्शिता र दीर्घकालीन व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
