बाँदर धपाउन राखिएको करेन्ट पासोमा परेर काभ्रे र सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु
बाँदरबाट बाली जोगाउन खेतबारीमा राखिएको विद्युतीय धराप (करेन्ट पासो) मा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक–एक जनाको ज्यान गएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका–१२ महभीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरिएको करेन्टमा परेर ६८ वर्षीया कमला मुल्मीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार हिजो काक्रोबारीमा गोडमेल गर्न गएकी मुल्मी करेन्ट लागेपछि घटनास्थलमै ज्यान गएको थियो । घटनाबारे जानकारी पाएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० बगुवामा पनि बाँदर धपाउन खेतमा राखिएको विद्युतीय पासोमा परेर ६६ वर्षीय भीमप्रसाद दुलालको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको खेतमा धानको बीउ राख्न जाँदा दुलाल करेन्ट पासोमा परेर घटनास्थलमै ज्यान गएको हो ।
दुवै घटनाबारे सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान अघि बढाएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले यस्ता जोखिमपूर्ण विद्युतीय पासो प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
