सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई कडाइ गर्न मन्त्री लम्सालको निर्देशन, रुग्ण आयोजना तत्काल अघि बढाउन आग्रह

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सम्झौता अवधि भित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कडाइ गर्न निर्देशन दिएका छन् । मेची राजमार्ग, मध्यपहाडी राजमार्ग र तमोर करिडोरका रुग्ण आयोजनाको स्थलगत निरीक्षणका क्रममा शनिबार पाँचथर पुगेका मन्त्री लम्सालले सम्बन्धित निकायलाई ठेक्का प्रक्रिया कडाइका साथ अघि बढाउन निर्देशन दिएका हुन् ।

मन्त्री लम्सालले आयोजना प्रमुख, सुरक्षा निकायका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा निर्माण ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै प्रशासनिक कमजोरीका कारण विकास परियोजना प्रभावित भएको बताए ।

उनले भने, “अधिकांश योजना समयमै पूरा नहुनुमा प्रशासनिक संयन्त्रको कमजोरी पनि जिम्मेवार छ, त्यसैले सुरक्षा संयन्त्रले पनि जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । समयमा काम नगर्ने ठेकेदारलाई कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाउनुपर्छ, आवश्यकता परे ठेक्का तोड्ने प्रक्रिया समेत अघि बढाउन निर्देशन दिन्छु ।”

मन्त्री लम्सालले म्याद सकिएर पनि लामो समयदेखि अलपत्र रहेका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया तत्काल अघि बढाउन आयोजना प्रमुखहरूलाई निर्देशन दिए ।

स्थलगत छलफलमा सरोकारवालाहरूले मध्यपहाडी राजमार्गअन्तर्गत थर्पु–चिवा भञ्ज्याङ सडक, मेची राजमार्गको पुवा खोला क्षेत्र तथा तमोर करिडोरअन्तर्गत कुम्मायक–३ हाङठुवादेखि हेवा खोला क्षेत्रका आयोजना लामो समयदेखि रुग्ण अवस्थामा रहेको जानकारी गराएका थिए ।

स्थानीय तहका प्रतिनिधिहरूले तत्काल निर्माण सम्पन्न हुने गरी ठोस कदम चाल्न आग्रह गरेका छन् ।

आयोजना प्रमुखहरूले भने ठेक्का तोड्दा निर्माण व्यवसायीबाट कर्मचारीलाई सम्भावित जोखिम हुन सक्ने भन्दै सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले विकास आयोजना अघि बढाउन प्रशासन र सुरक्षा निकाय प्रतिबद्ध रहेको उल्लेख गरे ।

मन्त्री लम्सालले मेची राजमार्गको इलाम खण्ड र तमोर करिडोरको फिदिम क्षेत्रको समेत निरीक्षण गरेका छन् ।

यसैबीच, मध्यपहाडी राजमार्गअन्तर्गत थर्पु–चिवा भञ्ज्याङ क्षेत्रको निरीक्षण गर्ने भनिए पनि मन्त्री टोली फिदिमबाटै फर्किएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । स्थानीयवासीले पहिरोले क्षतिग्रस्त सडक, पुल र पुलेसाबारे प्रत्यक्ष जानकारी गराउने तयारी गरे पनि अवसर नपाएको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *