सुन्दरहरैंचामा एक दिनमा १ हजार ९ सय ७९ जना बालबालिकाले एच.पि.भी. खोप लगाए

एलएन गच्छदार सुन्दरहरैंचा, मोरङ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सुरु भएको एच.पि.भी. (Human Papillomavirus) खोप अभियानअन्तर्गत सुन्दरहरैंचामा १९७९ जना बालबालिकाले खोप लगाएका छन्। माघ २३ गतेबाट सुरु भएको अभियानमा लक्षित उमेर समूहका बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित राख्न यो खोप प्रदान गरिएको हो।

सुन्दरहरैंचा नगरपालिका स्वास्थ्य शाखाका अनुसार, खोप अभियान योजनाबद्ध रूपमा सञ्चालन गरिएको थियो। अभियानलाई प्रभावकारी बनाउन विद्यालय, अभिभावक, र स्थानीय तहको सक्रिय सहकार्य भएको शाखा प्रमुख ममता न्यौपानेले जानकारी दिनुभयो।

अभिभावकहरूले यस खोप कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै स्वास्थ्य सुरक्षाको दृष्टिले यसलाई निकै महत्वपूर्ण कदम भएको बताएका छन्। बालबालिकाहरूले पनि खोप लगाउन उत्साह देखाएका थिए।
सुन्दरहरैंचामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पि.भी. खोप अभियानको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख अकली चौधरीले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोपको महत्त्वलाई जोड दिँदै भन्नुभयो: “खोप बालबालिकाको सुरक्षित भविष्य निर्माण गर्ने आधार हो। यस खोप अभियानले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगहरूबाट बचाउन महत्त्वपूर्ण योगदान दिनेछ। हामीले खोप अभियानलाई हरेक बालिकासम्म पु¥याउने सुनिश्चित गर्नुपर्छ।”

उहाँले यस कार्यक्रम सफल बनाउन अभिभावक, विद्यालय र समुदायको सहकार्य अपरिहार्य रहेको पनि बताउनुभयो। साथै, नगरपालिकाले स्वास्थ्यका अन्य क्षेत्रमा पनि निरन्तर योगदान दिइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगर उपप्रमुख चौधरीले स्थानीय बासिन्दालाई खोप अभियानमा सक्रिय सहभागी बन्न आग्रह गर्दै भन्नुभयो, “खोप लगाउनु स्वास्थ्यप्रतिको लगानी हो। सबैले यस अभियानलाई सफल बनाउन साथ दिनुपर्नेछ।” उहाँको भनाइले कार्यक्रमप्रति थप सकारात्मकता र उत्साह ल्याएको स्थानीयहरूको धारणा रहेको छ।

नगरपालिकाले खोप कार्यक्रमलाई अझ व्यापक बनाउने योजना बनाएको छ। बाँकी बालबालिकासम्म खोप पु¥याउन थप सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ। यो अभियान माघ ३० गते सम्म चल्नेछ।

१ हजार ९सय ७९ जना बालबालिकाले खोप लगाएको यो अभियानले स्वास्थ्य सुरक्षाका क्षेत्रमा ठुलो योगदान पुर्‍याएको छ। नगरपालिकाले यसलाई सफलताको सुरुवात मान्दै आगामी दिनमा पनि यस्तै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *