अवैध माटो उत्खननको विषयमा मुख खोले अध्यक्ष नमोनारायण

ग्रामथान / पौष १७ गते

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडा नं २ मा भएको अवैध माटो उत्खननको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष नमो नारायण माझीले गैरकानुनी उत्खनन रोक्ने सम्बन्धमा प्रहरी चौकी झोराहाटलाई लेखिएको पत्रप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्।

विज्ञप्तिमा उल्लेख भए अनुसार अध्यक्ष माझी काठमाण्डौ गएको बेला उक्त पत्र काटिएको र यसबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन्। यस विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण मागिएको तर यसलाई भ्रामक रूपमा प्रचार गरिएको प्रति उनले दुःख व्यक्त गरेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिका अध्यक्षको कार्यालयबाट हुने काम कारबाहीको रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकार रहेको उल्लेख गर्दै माझीले सुशासन र पारदर्शिताको पक्षमा आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले विगतका विसंगतिपूर्ण अभ्यासलाई सुधार्दै जनताको चाहना अनुरूप पालिका सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष माझीले गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूलाई निर्धक्क भएर काम गर्न र आम नागरिकलाई भ्रामक प्रचारमा नलाग्न समेत आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *