सुन्दरहरैंचामा करिब ६ हजार बालबालिकाले एचपीभी खोप लगाए, नगरप्रमुख गुरागाईंको फिल्ड अनुगमन

एलएन गच्छदार
सुन्दरहरैंचा, मोरङ – सुन्दरहरैंचा नगरपालिकामा हालसम्म करिब ६ हजार बालबालिकाले मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाएका छन्। नगरपालिकाले सञ्चालन गरेको खोप अभियान प्रभावकारी बन्दै गएको छ।

नगरप्रमुख केदार प्रसाद गुरागाईं स्वयं फिल्डमा पुगेर खोप अभियानको अनुगमन गर्दै बालबालिका, अभिभावक, र स्वास्थ्यकर्मीहरूसँग कुराकानी गरेका छन्। उनले नगरपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

“एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न मद्दत गर्छ। नगरपालिकाले सबै लक्षित बालबालिकाले खोप लगाउने सुनिश्चित गर्छ,” गुरागाईंले भने।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ममता न्यौपानेका अनुसार, १० देखि १४ वर्षका बालिकाहरूलाई प्राथमिक रूपमा लक्षित गर्दै खोप अभियान सञ्चालन गरिएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार, खोप सुरक्षित छ र यसले भविष्यमा हुने क्यान्सरको जोखिमलाई कम गर्छ।

शाखा प्रमुख न्यौपानेका अनुसार  ५ हजार ९ सय ३४ जना बालबालिकालाई खोप लगाएको जानकारी दिइन।

बालबालिकाका अभिभावकहरूले पनि यो अभियानलाई स्वागत गरेका छन्। प्याबसन नगर अध्यक्ष दिपक क्षेत्रीले भने, “नगरपालिकाले स्वास्थ्य सुरक्षामा ध्यान दिएकोमा खुसी लागेको छ। यसले बालबालिकाको भविष्य सुरक्षित बनाउँछ।”

स्वास्थ्यकर्मीहरूले अझै खोप नलगाएका बालबालिकाहरूलाई छिटो खोप लगाउन आग्रह गरेका छन्। नगरपालिकाले आगामी दिनहरूमा पनि खोप अभियानलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *