राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बढी पदक जित्दै सुकुना मावि
एलएन गच्छदार / सुन्दरहरैंचा
सुन्दरहरैंचा नगरपालिकाको वडा १० मा रहेको सुकुना माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नगरमा दोस्रो स्थानमा बढी पदक जित्ने विद्यालय बन्न सफल भएको छ।
प्रतियोगितामा सहभागी विभिन्न विद्यालयहरूबीच भएको प्रतिस्पर्धामा सुकुनाका विद्यार्थी खेलाडीहरूले विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण, रजत र कास्य पदक जितेका हुन्। विद्यालयका विद्यार्थीहरूले एथलेटिक्स तर्फ ११ स्वर्ण, ३ रजत र ३ कास्य प्राप्त गरे।
त्यसै गरि उसु तर्फ २ स्वर्ण, ७ रजत ६ कास्य, तेक्वान्दो तर्फ १ रजत र ३ कास्य प्राप्त गरे। कराते तर्फको खेलमा रजत कास्य क्रमशः २ / २ पदक प्राप्त गरेका थिए भने कबड्डीमा २ स्वर्ण र भलिबल खेलमा २ रजत गरि जम्मा १५ स्वर्ण १५ रजत र १४ कास्य पदक प्राप्त गरे।
प्रभावशाली प्रदर्शन गर्दै ६६ वटा इभेण्टमा ४४ पदक प्राप्त गरि दोस्रोमा बढी पदक जित्ने विद्यालय भित्र परेको प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेतले वताए ।
विद्यालयका प्रधानाध्यापक बस्नेत ले विद्यालयको यो उपलब्धि विद्यार्थीहरूको मेहनत, प्रशिक्षकहरूको मार्गदर्शन र व्यवस्थापनको निरन्तर सहयोगकै कारण सम्भव भएको बताए। उनले आगामी प्रतियोगिताहरूमा पनि सुकुनाले यस्तै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
मंगलबार एक कार्यक्रम गरि विद्यालयले पदक प्राप्त खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थियो।
प्रतियोगितामा नगरका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका खेलाडीहरू सहभागी भएका थिए। खेल क्षेत्रको विकासमा यस्ता प्रतियोगिताले ठूलो योगदान पुर्याउने भन्दै आयोजकहरूले पनि सफल विद्यालय तथा खेलाडीहरूलाई बधाई दिएका छन्।
