ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा प्रि–प्राइमरी ग्राजुएसन समारोह सम्पन्न
एलएन गच्छदार
सुन्दरहरैँचा, मोरङ
मोरङको सुन्दरहरैँचा -८ सलकपुर स्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल मा प्रि–प्राइमरी तह उत्तीर्ण गरेका नानीबाबुहरूको सम्मानमा विशेष ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
सुन्दरहरैँचा शिक्षा शाखा प्रमुख तेजबहादुर आचार्य को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रि–प्राइमरी तह पूरा गरी कक्षा १ मा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई ग्राजुएसन क्याप तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै शिक्षा शाखा प्रमुख आचार्यले प्रारम्भिक बाल शिक्षाले बालबालिकाको व्यक्तित्व विकास, सिकाइ क्षमता र भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकाको उज्ज्वल भविष्यका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य छ। प्रारम्भिक शिक्षामा गरिएको लगानीले समाज र राष्ट्रको भविष्य निर्धारण गर्छ।”
विद्यालयका संस्थापक प्रिन्सिपल टिकाराम ढकाल ले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन तथा नैतिक मूल्यसहितको शिक्षणमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताउनुभयो।
कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। “सानो टोपीदेखि ठूला सपनासम्म” भन्ने भावनालाई आत्मसात् गर्दै सम्पन्न ग्राजुएसन समारोहले कक्षा १ मा प्रवेश गर्न लागेका विद्यार्थीहरूको नयाँ शैक्षिक यात्राको औपचारिक शुभारम्भ गरेको विद्यालयले जनाएको छ।





