४५औँ रोभर लिडर आधारभूत तालिम सफलतापूर्वक सम्पन्न
काठमाडौं । नेपाल स्काउट बागमती प्रदेश स्काउट कार्यालय तथा स्थानीय स्काउट कार्यालय चन्द्रागिरिको आयोजनामा सञ्चालित ४५औँ रोभर लिडर आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। चन्द्रागिरि नगरपालिका–१ स्थित सुमरा डाँडामा जेठ १२ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न स्थानबाट सहभागी भएका युवा स्काउटरहरूले नेतृत्व, सेवा तथा स्काउटिङका व्यवहारिक सीपहरू हासिल गरेका छन्।
पूर्ण रूपमा स्काउटिङ विधिअनुसार सञ्चालन गरिएको उक्त तालिमले सहभागीहरूमा नेतृत्व विकास, सेवा भावना, अनुशासन, टोलीगत सहकार्य तथा व्यक्तिगत क्षमताको अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। स्थानीय स्काउट कार्यालय चन्द्रागिरिका प्रमुख आयुक्त प्रमोद सिग्देलले तालिमले युवा रोभरहरूलाई सक्षम नेतृत्वकर्ता तथा जिम्मेवार नागरिक बन्न प्रेरित गरेको बताउँदै यसलाई व्यक्तिगत विकासको महत्वपूर्ण यात्राको सफल सुरुआतका रूपमा व्याख्या गरे।
तालिमको उद्घाटन नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य, लिडर ट्रेनर तथा ४५औँ रोभर लिडर बेसिक ट्रेनिङ कोर्षका कोर्ष लिडर कृष्ण चालिसेले गरेका थिए। उद्घाटनका क्रममा उनले रोभरिङमा नेतृत्व, सेवा र निरन्तर आत्मविकासको महत्त्वबारे प्रकाश पार्दै स्काउट आन्दोलनले युवाहरूलाई समाजप्रति उत्तरदायी र सक्रिय नागरिक बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए।
छ दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले स्काउटिङका आधारभूत सिद्धान्त, टोली व्यवस्थापन, नेतृत्व विकास, सामुदायिक सेवा, बाह्य जीवनसँग सम्बन्धित सीप तथा व्यवहारिक अभ्यासहरू गरेका थिए। तालिम अवधिभर विभिन्न समूहगत क्रियाकलाप, प्रस्तुति, छलफल तथा व्यवहारिक अभ्यासमार्फत सहभागीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको थियो।
तालिमको समापन समारोहमा बागमती प्रदेश कार्यसमिति सदस्य तथा सर्टिफिकेट ट्रेनर जमुना शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भइन्। उनले सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै स्काउट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरिन्। उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समाज सेवा तथा राष्ट्र निर्माणका कार्यमा उपयोग गर्न आग्रह गरिन्।
तालिममा सहायक लिडर ट्रेनर रामप्रसाद पाण्डे र सहायक लिडर ट्रेनर तीर्थबहादुर खड्काले कोर्ष काउन्सिलरको भूमिका निर्वाह गरेका थिए। त्यस्तै, चन्द्रागिरि शासन, स्रोत विकास तथा वित्त आयुक्त एवं प्रशिक्षण क्वार्टर मास्टर वुड ब्याज स्काउटर दीपेश थापाले प्रशिक्षण व्यवस्थापन तथा सञ्चालनमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
राष्ट्रिय प्रशिक्षक सुरज खनालले प्रशिक्षण अवधिभर सहभागीहरूले देखाएको समर्पण, अनुशासन, सहकार्य र सिकाइप्रतिको उत्साह प्रशंसनीय रहेको बताए। उनले तालिमबाट प्राप्त अनुभवले सहभागीहरूलाई आगामी दिनमा स्काउट आन्दोलनको प्रभावकारी नेतृत्व गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे।
तालिममा सहभागी २० जना युवामध्ये इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्र प्रसाद दाहालले प्रशिक्षणबाट नेतृत्व, सेवा र सामुदायिक उत्तरदायित्वबारे नयाँ दृष्टिकोण प्राप्त भएको बताए। उनले तालिमले आफूहरूलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गरेको उल्लेख गर्दै स्काउटिङका मूल्य र आदर्शलाई व्यवहारमा उतारेर समुदायमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे।
तालिमको सफल समापनसँगै नवप्रशिक्षित रोभर लिडरहरूका लागि नेतृत्व, सेवा र सामाजिक उत्तरदायित्वको नयाँ यात्रा सुरु भएको आयोजकले जनाएको छ। प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र मूल्यहरूले उनीहरूलाई स्काउट आन्दोलन तथा समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।
