निर्माणाधीन ग्याबिन पर्खाल दोस्रो पटक भासियो, मध्यपहाडी लोकमार्गअन्तर्गतका बस्ती पहिरो जोखिममा

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा निर्माणाधीन ग्याबिन पर्खाल (तारजालीसहितको पर्खाल) दोस्रो पटक भासिएपछि स्थानीय बस्ती पहिरोको उच्च जोखिममा परेको छ। निर्माणको अन्तिम चरणमा पुगेको पर्खाल जेठ १५ गतेदेखि भासिन थालेपछि काम ठप्प भएको छ भने स्थानीयवासीमा त्रास बढेको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्क्स’ कार्यक्रमअन्तर्गत निर्माण भइरहेको ग्याबिन पर्खाल सकिनुअघि नै बीच भागबाट भासिएको हो। निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले तारजाली भरेर सडकसम्म अग्लो पर्खाल निर्माण गरिसकेको अवस्थामा माटो फिलिङ गर्ने क्रममा संरचना धसिएको जनाएको छ।

पर्खाल भासिएपछि त्यसभन्दा तल रहेका भीमराज राई, देवेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई र नरबहादुर राईका घर पहिरोको जोखिममा परेका छन्। त्यस्तै, स्थानीयको मकैबारीसमेत चर्किन थालेको छ। स्थानीयवासीले माम्खाको भौगोलिक अवस्थालाई ध्यान नदिई निर्माण गरिएको भन्दै भित्तातर्फको चट्टान काटेर सडक चौडा नबनाएसम्म समस्या दोहोरिने बताएका छन्। केहीले कमजोर जगका कारण पर्खाल भासिएको आरोप लगाएका छन् भने कतिपयले कमजोर भू–बनोटलाई मुख्य कारण मानेका छन्।

यसअघि पनि सोही स्थानमा सडक कालोपत्र गर्ने क्रममा निर्माण गरिएको आरसिसी पर्खाल भासिएर सडकभन्दा तल खसेको थियो। त्यसयता उक्त स्थान साँघुरो सडकमार्फत सञ्चालन हुँदै आएको छ। घटनापछि सडक डिभिजन कार्यालय हर्कपुरका सिनियर डिभिजन इन्जिनियर सविन जोशी नेतृत्वको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। उनका अनुसार प्रारम्भिक रूपमा कमजोर भू–बनोटका कारण संरचना भासिएको देखिए पनि विस्तृत प्राविधिक प्रतिवेदनपछि मात्रै थप निर्णय गरिनेछ।

माम्खाको समस्या सामान्य निर्माण त्रुटिभन्दा फरक प्रकृतिको देखिएको छ। दीर्घकालीन समाधानका लागि विज्ञहरूसँग परामर्श भइरहेको छ, इन्जिनियर जोशीले बताए। दोभान निर्माण सेवाले २०८२ मंसिर ४ गते सम्झौता गरी २०८३ वैशाख ६ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर निर्माण सम्पन्न नभएपछि असार १५ गतेसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। दिक्तेल–चखेवा सडकखण्डका विभिन्न स्थानमा ग्याबिन वाल, प्लम वाललगायत संरचना निर्माणका लागि दुई करोड ७९ लाख ७७ हजार ९१२ रुपैयाँको ठेक्का सम्झौता भएको छ।

यता दिक्तेल–चखेवा सडकखण्डअन्तर्गत पङ्खुखोलामा निर्माणाधीन पक्की पुलसमेत अलपत्र अवस्थामा छ। वर्षायाममा यातायात सञ्चालन प्रभावित हुने समस्यालाई ध्यानमा राख्दै श्रम संस्कृति पार्टीसँग आबद्ध श्रमदाताले मोटरसाइकल र अटो वारपार गर्न मिल्ने काठको पुल निर्माण गरेका छन्।

स्थानीयका अनुसार श्रमदाताले तीन दिन लगाएर बनाएको काठको पुलले आवतजावत सहज बनाए पनि दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माण आवश्यक रहेको छ। यसैबीच, दिक्तेल–चखेवा सडकखण्डको सेखुवाखण्डमा कालोपत्रको कामसमेत वर्षौंदेखि अलपत्र रहेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *