गेटा आँखा अस्पतालमा कर्मचारी–प्रशासन विवाद चर्कियो, सेवा–सुविधा र वृत्ति विकासको माग
धनगढी । कैलालीस्थित गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबीचको विवाद चर्किँदै गएको छ। सेवा–सुविधा, महँगी भत्ता, वृत्ति विकास तथा कर्मचारी व्यवस्थापनका विषयमा असन्तुष्ट कर्मचारीहरूले आन्दोलनका कार्यक्रम अघि बढाएपछि अस्पतालभित्रको विवाद सतहमा आएको हो।
नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित अस्पतालका कर्मचारीहरूले लामो समयदेखि उठाउँदै आएका माग सम्बोधन नभएको आरोप लगाएका छन्। उनीहरूको मुख्य माग गत वर्ष वृद्धि गरिएको महँगी भत्ता उपलब्ध गराउनु, आइतबार सार्वजनिक बिदा कार्यान्वयन गर्नु तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी दरबन्दी र सेवा–सुविधा सुनिश्चित गर्नु रहेको छ।
कर्मचारीका अनुसार केन्द्रबाट निर्णय भइसकेको महँगी भत्ता समेत अस्पताल प्रशासनले कार्यान्वयन नगरेको छ। त्यस्तै नेपाल सरकारले लागू गरेको आइतबारको सार्वजनिक बिदा अस्पतालमा कार्यान्वयन नभएकाले सो दिन बिदा वा सट्टा बिदासहित अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
लामो समयदेखि कार्यरत कर्मचारीलाई हटाउने प्रयास भइरहेको आरोप लगाउँदै कर्मचारी ओपी रानाले आफूहरूले बिरामीको सेवामा कुनै सम्झौता नगरे पनि व्यवस्थापनले कर्मचारीको हकहितका विषयमा बेवास्ता गरेको बताए।
माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूले जेठ ४ गते अस्पताल प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दीसमेत गरेका थिए। आन्दोलनका क्रममा पनि बिरामीको सेवा प्रभावित हुन नदिएको कर्मचारीहरूको दाबी छ।
यद्यपि प्रशासनले समस्या समाधान गर्नुको सट्टा आन्दोलनरत कर्मचारीमाथि मानसिक दबाब सिर्जना गर्ने, स्पष्टीकरण सोध्ने तथा प्रहरी प्रशासन प्रयोग गरेर तर्साउने प्रयास गरेको आरोप कर्मचारीहरूले लगाएका छन्। न्यायको माग गर्दै उनीहरू राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयसमेत पुगेका छन्।
मानव अधिकार आयोगका निमित्त प्रमुख मानबहादुर कार्कीका अनुसार आयोगले अस्पताल प्रशासनसँग जवाफ मागिसकेको छ। प्रशासनबाट प्राप्त जवाफका आधारमा यो विषय मुख्यतः आन्तरिक व्यवस्थापकीय विवादका रूपमा देखिएको उनले बताए।
यता अस्पतालका प्रमुख चिकित्सा निर्देशक डा. सुरेशराज पन्तले भने केन्द्रबाट आवश्यक पत्र प्राप्त भइसकेकाले विवाद समाधानको चरणमा पुगेको दाबी गरेका छन्। संस्थाको नियम र मर्यादा पालना गराउने क्रममा कर्मचारीसँग स्पष्टीकरण मागिएको उनको भनाइ छ।
तर प्रशासनको दाबीप्रति कर्मचारीहरू सन्तुष्ट छैनन्। प्रशासनले आश्वासन मात्रै दिने तर व्यवहारमा समस्या समाधानका लागि ठोस कदम नचालेको उनीहरूको आरोप छ।
अस्पतालभित्रको विवादले स्थानीयवासी र संस्थाका आजीवन सदस्यहरूलाई समेत चिन्तित बनाएको छ। स्थानीयहरूले समयमै समस्या समाधान नगरे अस्पतालको प्रतिष्ठा र सेवा प्रवाह दुवै प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।
स्थानीय अगुवाहरूले कर्मचारी र प्रशासनबीच संवादको अभाव देखिएको भन्दै व्यवस्था





